सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम

‘देवभूमी सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ अभियान’देखि ‘नमुना गाउँ,आफैं बनाऔं’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश सभाको आज (बिहीबार) को बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै केही नयाँ कार्यक्रम समेटिएका छन् ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासमा जोड दिइएको छ । त्यस्तै रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक क्षेत्रको पुनरुत्थानलगायतका क्षेत्रलाई समेटेर बजेट तर्जुमा गरिने उल्लेख छ ।

यसैगरी विकाससँग रोजगारी कार्यक्रम, सबैका लागि शिक्षा अभियान, द्वारिकादेवी महिला सशक्तीकरण कार्यक्रम, प्रदेश गौरवका योजना, सरकारी स्वास्थ्य संस्थाको क्षमता बिस्तार, प्रदेश निजामती अस्पतालको स्थापना, वित्तीय पहुँच अभिवृद्धि, भौगोलिक सञ्चार प्रणाली विस्तार, लगानी मैत्री वातावरणमा जोड दिइनेछ, प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।

एक जिल्ला एक नमूना क्याम्पस स्थापना, एक स्थानीय तह एक पुस्तकालय स्थापना, देवभूमी सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ अभियान, विज्ञान प्रविधि प्रतिष्ठान स्थापना, विकाससँग रोजगारी कार्यक्रम, एक निर्वाचन क्षेत्र एक खेल मैदान स्थापना, मुख्यमन्त्री खेलकुद, प्रदेशका गाउँ उज्यालो बनाउँ, मुख्यमन्त्री एकिकृत बस्ती विकास कार्यक्रम, आवास सुधार कार्यक्रम, नमुना गाउँ,आफैँ बनाऔंलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा अटाएका छन् ।

यस्तै सडक दुर्घटना, चोरी, लुटपाट जस्ता घटना न्यूनीकरणका लागी राजमार्गमा सिसिटिभी जडान, नागरिक सीमा हेल्प डेस्क प्रभावकारी व्यवस्थापन, शान्ति सुरक्षा, प्रदेश प्रहरीको भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेश सभाको अर्को बैठक जेठ २८ गते दिउसो ३ बजे बस्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *