गण्डकीको गणित

दुवैतिर बहुमत नपुग्ने अवस्था, प्रदेश सभा जोगाउने जिम्मा मनाङ्गेलाई !

पोखरा । केन्द्रको पछिल्लो राजनीतिसँगै गिजोलिएको प्रदेश सभाको राजनीति गण्डकी प्रदेशमा भने रोचक बनेको छ । ६० जना सांसद रहेका प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष कसैको पनि बहुमत नपुग्ने अवस्था सिर्जना भएपछि मध्यावधि चुनाव हुनसक्ने सम्भावना पनि बलियो बन्दै गएको छ ।

गत वैशाख २९ गते प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ । जसका लागि बिहीबार प्रदेश सभाको बैठक बस्दैछ । तर गुरुङले विश्वासको मत पाउने सम्भावना अत्यन्तै न्यून छ ।

कूल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् । एकजना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापासहित मुख्यमन्त्रीको पक्षमा २९ जना सांसद मात्र हुन्छन् । त्यसमा पनि मनाङ्गेले सरकारको बहुमत नपुग्ने भएकाले साथ नदिने बताएका छन् । जनमोर्चाका सांसद थापाको कारबाहीबारे सर्वोच्चमा बिहीबार नै सुनुवाइ हुँदैछ ।

प्रदेश सभा जोगाउने मनाङ्गेको हातमा
प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्ग)ले ‘मेरो कारण प्रदेश सभा जोगिन्छ भने आफू विपक्षी गठबन्धनतिर लाग्न तयार छु’ भनेर भनिसकेका छन् ।

पोखराको आदर्श समाज पत्रिकालाई अन्तरवार्ता दिँदै उनले यस्तो बताएका हुन् । तर त्यसपछि उनको मोबाइल भने स्वीच्ड् अफ गरिएकाले यसबारेमा थप जानकारी नभएको कांग्रेस नेताहरुले बताएका छन् ।

विपक्षीलाई बहुमत पुर्याउन सकस
सिधा सिधा हेर्दा गण्डकी प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ गरी कूल ३२ सांसद छन् । यी सबै विपक्षी गठबन्धनमा रहेपनि विपक्षीलाई बहुमत पुर्याउन सहज छैन । माओवादीका एकजना सांसद सभामुख भएकाले उनले मतदान गर्न मिल्दैन ।

जनमोर्चाका तीनमध्ये कृष्ण थापा यो गठबन्धनमा छैनन् । उनले मुख्यमन्त्री गुरुङलाई साथ दिएकाले विपक्षी गठबन्धनसँग ३० जना मात्र सांसद छन् ।

मनाङ्गेको भनाइले राहत तर छैन भर
यस्तो बेलामा मुख्यमन्त्री गुरुङको पक्षमा रहेका सांसद मनाङ्गेले बहुमत पुग्ने पक्षतर्फ लाग्ने बताएकाले विपक्षी दललाई केही राहत मिलेको छ ।

तर उनको भर नभएको र अन्तिममा मुख्यमन्त्री गुरुङले भनेकै मान्ने सम्भावना रहेकाले विपक्षी ढुक्क छैनन् । अर्कातिर जनमोर्चाका सांसद खिमविक्रम शाहीले पनि कांग्रेस मओवादी गठबन्धनलाई साथ दिन्छन् नै भन्ने छैन । उनी एमाले र मुख्यमन्त्री गुरुङको निकट रहेकाले उनी आफ्नो भनाइमा अडिग रहँदैनन् कि भन् डर विपक्षीलाई छ ।

फ्लोर क्रसको न्यून सम्भावना
कर्णाली र सुदुरपश्चिम प्रदेशमा एमालेका सांसदहरुको फ्लोर क्रसका कारण सफल बनेका विपक्षी गठबन्धनलाई गण्डकीमा यो फाइदा पनि छैन ।

गण्डकी प्रदेश सभामा एमालेको माधवकुमार नेपाल पक्षका एकजना मात्र सांसद ईन्द्रलाल सापकोटा छन् । उनले फ्लोर क्रस गरेपनि विपक्षी पक्षलाई बहुमत पुर्याउन सहज हुन्छ तर उनी मुख्यमन्त्री गुरुङकै निकट छन् । उनले फ्लोर क्रस गर्ने सम्भावना अति नै न्यून मात्र छ ।

सभामुखको राजीनामा
सभामुखको राजीनामा गराएर मतदान गराउने सम्भावना विपक्षी दलको अन्तिम अस्त्र हुन सक्छ । तर यसो हुँदा बाँकी ३० मत निश्चित हुनुपर्छ । यसका लागि माओवादीले कांग्रेस नेतृत्वको सरकार बनाउन आफ्नो भागको सभामुख पद छोड्ला नछोड्ला भन्ने कुरा पनि बाँकी नै छ ।

मध्यावधि चुनावको सम्भावना
दुवै पक्षले बहुमत पाउन सक्ने सम्भावना कम हुँदा गण्डकीमा मध्यावधि चुनावको घोषणा हुने सम्भावना बढेको छ । आज मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसके भोलि विपक्षी दललाई बहुमत सिद्ध गर्न समय दिने र बहुमत नपुगेको अवस्थामा मध्यावधि चुनाव घोषणा हुने सम्भावना रहेको दलका नेताहरु नै बताउन थालेका छन् ।

अर्कातिर कुनै हालतमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री गुरुङले संसद्को सामना नगरी राजीनामा दिने सम्भावना पनि रहेको कतिपयको आकलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *