प्रदेश १ मा चलचित्र महासङ्घको ‘हातेमालो अभियान’

काठमाडौं । प्रदेश १ का कलाकार तथा प्राविधिकको हकहित र प्रदेश १ लाई चलचित्र नगरी बनाउनका लागि नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले ‘हातेमालो अभियान’ सुरु गरेको छ । महासङ्घले सुरु गरेको यो अभियानमा प्रदेश १ बाट चलचित्र गतिविधिलाई समेट्ने डिथ्री अनलाइन, चलचित्र पत्रकार सङ्घ, नेपाल, प्रदेश १ तथा सुनसरी शाखा, होप धरानलगायत संस्था सहयोगी रहेका छन् ।

महासङ्घका उपाध्यक्ष प्रकाश सुब्बाले सोमबार सुरु गरेको अभियानमा हालसम्म प्रदेश १ को विर्तामोड, धरान, विराटनगर, इटहरी, इनरुवा र दुहबीमा रहेका १ सयभन्दा बढीको नाम राहतका लागि सङ्कलन गरिएको बताए । ‘सङ्कलन गरिएका नामहरूमा धेरै मात्रामा प्राविधिकहरू रहेका छन् । कलाकारसँगै केही सहायक निर्देशकहरू पनि रहेका छन्’, उनले भने ।

महासङ्घमा चलचित्रसँग सम्बन्धित प्रदेश १ भरिका १५ वटा सङ्घ आबद्ध रहेका छन् । अहिले सबै सङ्घबाट अन्य प्राविधिक तथा कलाकारहरूको नामावली आउने क्रम जारी रहेको सुब्बाले बताए ।

महासङ्घका अध्यक्ष तथा अभियानका संयोजक अरुणकुमार प्रधानका अनुसार राहत पाउनेको नाम, ठेगाना र तस्बिर सार्वजनिक गरिने छैन । ‘गोपनीयता र प्राविधिक, कलाकारको आगामी भविष्यलाई पनि सामाजिक सञ्जालमा ती तस्बिरलाई राख्दा असर गर्छ भन्ने हेतुले यस्तो निर्णय गरिएको हो’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *