अन्तिम मिनेटमा गोल खाएपछि बराबरीमा रोकियो अर्जेन्टिना

काठमाडौँ ।  विश्वकप छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा दक्षिण अमेरिकी जाइन्ट अर्जेन्टिना कोलम्वियासँग बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले २-० को अग्रता लिएपनि जोगाउन नसक्दा घरेलु टोली कोलम्वियासँग २-२ गोलको बराबरीमा रोकिन पुग्यो ।

पहिलो हाफको १० मिनेटभित्रै अर्जेन्टिनाले दुई गोल गरेको थियो । तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डि पउलको पासमा गोल गरे । आठौं मिनेटमा लियान्द्रो ड्यानियल पारेडेसले टीमको अग्रता दोब्बर बनाए । निकोलस गोन्जालेजको पासलाई डयानियलले सदुपयोग गरेका थिए ।

दुई गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफको सुरुवातमै खेलमा फर्कियो । ५१औं मिनेटमा निकोलस ओटामेन्डीले मेटस युरिवेलाई पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीमा लुइस मुरिएल गोल गरे ।

त्यसपछि पनि अर्जेन्टिनाले गोलका केहि राम्रा अवसर सदुपयोग गर्न सकेन् । ५८औं मिनेटमा कप्तान लियोनेल मेसीको आकर्षक फ्रिकिकलाई कोलम्वियाका गोलरक्षक डेभिड ओस्पिनाले बचाए । ६५औं मिनेटमा मेसीकै अर्को मौकापनि सफल भएन् ।

कोलम्बीयाले पनि बराबरीका लागि निरन्तर प्रयास गर्‍यो । ७१औं मिनेटमा लुइस मुरिएलले राम्रो मौका खेर फाल्दा ७७औं मिनेटमा यारी मिनाको प्रयासपनि सफल भएन । तर इन्ज्युरी समयको थप गरिएको अन्तिम मिनेटमा मिगुएल बोर्जाले जुआन कोर्डाडोको पासमा आकर्षक हेड गर्दै कोलम्वियालाई हारबाट जोगाए ।

बराबरीपछि दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ६ खेलबाट १२ अंक भएको छ । त्यस्तै कोलम्वियाको ८ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *