बजेटका कुरा कार्यान्वयन हुँदैनन्‚ राज्यको आशा नगर्नुस्

काठमाडौं । अर्थशास्त्री डा. रेवत बहादुर कार्कीले युवाहरुलाई उद्यमशिलतामा अग्रसर हुन सुझाएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको र त्यसमा युवाका मुद्दाहरू ओझेलमा परेको भन्दै युवालहरुलाई सरकारको मुख नहेरी आफैँ उद्यमशिलतामा लाग्न सुझाएका हुन् । इसिभी नेपाल र एफपिए नेपालले गरेको युवा अभिमत भर्चुअल संवादमा डा. कार्कीले भने ‘बजेटको प्राथमिकतामा युवाहरु पर्दैनन् परे पनि ती कार्यक्रम कार्यान्वयनमा ध्यान दिएको पाइँदैन, तपाईंहरू आफैँ केही न केही गर्ने अभिप्रायले अग्रसर हुनुस् राज्यको आशा नगर्नुस्’ उनले राज्यले युवाहरुलाई रोजगारका अवसरहरु सिर्जना गर्न नसक्दा राष्ट्र निर्माणका पहरेदार मानिने युवाहरु खाडी मुलुकमा श्रम बेच्न बाध्य भएको जिकिर गरे ।

बजेटमा युवाका लागि ल्यापटप खरिदका लागि ऋण, निःशुल्क सिमकार्ड, सर्टिफिकेट धितोका आधारमा २५ लाखसम्म ऋण, उद्यमी बन्न चाहानेलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजदरमा ऋण दिने उल्लेख छ । उनले भने‚ ‘बजेट सबैलाई खुशी बनाउने अभिप्रायले आएको छ तर स्रोत सुनिश्चितता गर्नेगरी कार्यान्वयन गर्ने मनसायले बजेट आएको छैन ।’

सो अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को निवर्तमान उपाध्यक्ष एवं सञ्चारकर्मी निरु अर्यालले बजेटमा ल्याइएका विषयको कार्यान्वयनका लागि युवाहरुले घचघचाउने बेला भएको बताइन् । लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय अर्यालले भनिन्‚ ‘मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ भनिन्छ, रिर्पोटिङकै क्रममा हेर्दा पनि यस्ता विषय सधैँजसो बजेटमा आउँछन् तर कहिले कार्यान्वयन हुँदैनन् ।’ उनले युवाहरुलाई राजनीतिक दलहरुले आफ्नो कार्यकर्ता बनाएर आफ्नो चाहाना पुरा गर्न खोज्ने अनि राज्यले पनि युवाहरुलाई सिर्जनशील बनाउनतिर ध्यान नदिँदा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको बताइन् ।

उनले भनिन् ‘दिनहु विदेसिरहेका दक्ष, अर्धदक्ष एवं अदक्ष नेपाली जनशक्तिलाई मुलुकमै उद्यमशीलताको अवसर र रोजगारी सिर्जना गर्न सक्यो राष्ट्र निर्माणमा युवालाई सहभागी बनाउन सकेमा देशको सामाजिक आर्थिक रुपान्तरणमा सम्भव छ ।

बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम् एक सय दिनको रोजगारी सुनिश्चित गरिनेजस्ता कार्यक्रमलाई समावेश गरिएको छ । श्रम बजारमा प्रवेश गर्ने, स्वदेशमै उद्यमी बन्न चाहाने युवाका लागि विभिन्न सिपको व्यवस्था मिलाइएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका थिए ।

बजेटले राष्ट्रिय युवा परिषद्मार्फत युवा शक्तिलाई संगठित गरी विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, राहत, उद्धार तथा जनचेतना अभिवृद्धिलगायतका सामाजिक कार्यमा परिचालित गरिने भनिएपनि नेपालमा युवालाई कायकर्ता बनाउने बाहेक अरु काममा उपयोग गरिएको छैन । बजेट भाषण गर्ने बेलामा मन्त्री पौडेलले खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियतदरको कर्जा उपलब्ध गराएको र खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट छुटयाइएको बताएका थिए । कोरोनाका कारण अर्थतन्त्र ऋणात्मक भएको बेला अर्थमन्त्रीले आगामी वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र ११ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =