अभिनेत्री एभलीनको गोप्य विवाह

एजेन्सी । ‘ए जवानी है दिवानी’ फेम्ड अभिनेत्री एभलीन शर्माले विवाह गरेकी छन् । उनले भारतीय मूलका दन्त शल्य चिकित्सक डाक्टर तुषान भिंडीसँग अस्ट्रेलियामा विवाह गरेकी हुन् । विवाह ब्रिस्बेनमा १५ मे २०२१ मा गोप्य समारोहबिच भएको थियो । विवाहको जानकारी भने एभलीन शर्माले आफ्नो विवाहको केही फोटोहरू सामाजिक सञ्जालमा सेयर गर्दै दिएकी छन् ।

सामाजिक सञ्जाल मार्फत सार्वजनिक
एभलीनले विवाहको फोटो सार्वजनिक गर्दै लेखेकी छन्, ‘मिस्टर एन्ड मिसेस् भिंडी । हाम्रो सानो विवाह समारोहलाई हाम्रो जीवनको सर्वश्रेष्ठ दिन बनाइदिने सबै व्यक्तिहरूलाई धेरै धेरै धन्यवाद ।’ तस्बिरमा एभलीनले सेतो गाउन र उनका श्रीमानले निलो सुट लगाएको देख्न सकिन्छ ।

बेस्ट फ्रेन्डसँगको विवाहभन्दा राम्रो के होला ?
विवाहको बारेमा कुरा गर्दै, एभलीनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘तपाईँको सबैभन्दा मिल्ने साथीसँग बिहे गर्नुभन्दा जीवनमा राम्रो अनुभव अरू केही हुन सक्दैन । हामी आफ्नो जीवन सँगै बिताउन अत्यन्तै उत्साहित छौँ । हामी चाहन्छौँ हाम्रो विवाहले परिवारसँगै मित्रता पनि कायम राख्न सकोस् ।’

गोप्य विवाह 
उनीहरूले विवाहमा आफ्नो सम्पूर्ण परिवार र साथीहरूलाई बोलाउन चाहेका थिए । तर परिस्थिति सामान्य नभएको कारण सानो विवाह गरियो । उनी भन्छिन्, ‘हामीलाई विवाहको समय सबैसँग हुन मन थियो । सम्भव भएन । तर हामीलाई थाहा छ कि उहाँहरुको प्रेम र आशिष हामीसँगै छ । हामीले भर्खर एउटा साधारण समारोहमा विवाह गरेका छौँ, तर भविष्यमा पनि ठूलो उत्सव मनाउने योजना छ ।’

प्रेमलाई आधिकारिकता दिने क्षण विवाह
एभलीनका पति तुषानले भने, ‘इन्गेजमेन्ट भएको डेढ वर्ष भइसकेको थियो र त्यस बेलादेखि हामीले विवाह गर्ने योजना बनाइरहेका थियौँ । तर लकडाउनले हाम्रो सबै योजनालाई असफल बनाइदियो । वर्तमान समयमा परिस्थिति जस्तो छ, यहीअनुसार नै योजना बनायौँ । त्यसैले हामीले सबै चीजहरू सरल र सामान्य राख्यौँ । यो समय हाम्रो प्रेम र प्रतिबद्धतालाई विश्व माझ आधिकारिक बनाउने समय थियो ।’

एभलीनकी आमाको अनुपस्थिति
एभलीनकी आमा पनि विवाहमा उपस्थित हुन सकिनन् । यसका लागि एभलीन र तुषान भन्छन्, ‘हामी केही समयपछि भव्य रिसेप्सन समारोह गर्नेछौँ । त्यही समय हामी हाम्रो सम्पूर्ण परिवार र साथीहरूसँगको समय बनाउनेछौँ । अहिलेका लागि हामी उनीहरूको शुभकामना र आशिषको लागि कृतज्ञ छौँ । अहिलेको अवस्थामा भने हामी आफ्नो मातृभूमि भारतको लागि प्रार्थना गर्दछौं।’

२०१९मा भएको थियो इन्गेजमेन्ट
उनीहरूले अक्टोबर २०१९ मा इन्गेजमेन्ट गरेका थिए । उक्त समय दुवैले सिड्नी हार्बर ब्रिजको अगाडिको तस्बिर समेत सार्वजनिक गरेका थिए । यस पटक विवाहका लागि भने उनीहरूले अस्ट्रेलियाको ग्रामीण इलाका छनौट गरेका थिए । कोरोना सङ्क्रमणको यस समयमा एभलीन र तुषानको विवाह थोरै व्यक्तिको उपस्थितिमा भएको थियो । दुई जनाको पहिलो भेट २०१८ मा भएको थियो । यी दुई ले ब्लाइन्ड डेटमा भेट गरेका थिए । उनीहरूका साथीहरूले नै यो समय र भेटको एरेन्जमेन्ट गरेका थिए । त्यसपछि दुवै साथी बने र अहिले विवाह बन्धनमा बाँधिएका छन् ।

२०१२ मा बलिउड डेब्यु
एभलीन शर्माले २०१२ मा चलचित्र ‘सिड्नी विथ लभ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनी ए जवानी है देवानी, मैँ तेरा हिरो, जब हैरी मेट सेजल, नौटङ्की साला, मैँ तेरा हिरो र हिन्दी मीडियममा देखा परिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *