हुलाकी सडकमा अवरोध: ‘गाडी देख्यो कि हतियारसहित आउँछ एसएसबी’

डेढ वर्षदेखि निर्माण कार्य प्रभावित

धनगढी । भारतीय सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी सडकको निर्माण कार्यमा अवरोध कायमै राखेको छ । एसएसबीको अवरोधका कारण डेढ वर्षदेखि एक किलोमिटरभन्दा बढी सडक क्षेत्रको निर्माण कार्य रोकिएको हो ।

जिल्लाको पुनर्वास नगरपालिका अन्तर्गत मोहनापुलदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माण कार्य हुँदैछ । जसमध्ये बेलौरी नगरपालिका वडा नम्बर ८ खप्टीनाला क्षेत्रमा भारतीय एसएसबीले डेढ वर्षदेखि अवरोध सृजना गरिरहेको हो । एसएसबीको अवरोधका कारण डेढ वर्षदेखि सडक निर्माण कार्य रोकिएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ । एसएसबीले उक्त भूमि भारतमा पर्ने भन्दै काममा अवरोध सिर्जना गर्दा निर्माण कार्य अगाडि बढाउन नसकिएको हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैले बताए ।

एसएसबीले अवरोध सृजना गरेपछि कालोपत्र गर्न तयार भएको सडक निर्माणको काम रोक्नु परेको सडक निर्माणको ठेक्का पाएको बाबाहंस सिद्धिकीका सञ्चालक चक्रदीप शाहले बताए । विवादित क्षेत्रबाहेकको ठाउँमा मात्रै अहिले काम भइरहेको उनले बताए । ‘गत वर्ष पनि एसएसबीसहित प्रशासनिक कर्मचारीले पनि सडक निर्माणमा अवरोध गरेका थिए,’ उनले भने, ‘निर्माण सामग्री बोकेका गाडी देख्ने वित्तिकै हतियारसहित एसएसबीको टोली आएर धम्की दिएर जान्छ, जसले गर्दा काम गर्न सकिएको छैन ।’

स्थानीय प्रशासनबाट समस्या समाधानको लागि गरेको पहल सफल नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कागजात मागेको हुलाकी सडक योजना कार्यालय धनगढीका इन्जिनियर मडैले बताए । ‘हामीले यहाँको समस्या दर्शाएपछि प्रधानमन्त्री कार्याललयबाट कागजात माग भएको छ,’ उनले भने, ‘माग भएअनुसार हामीले पनि सम्पूर्ण प्रमाण प्रधानमन्त्री कार्यालयलाई पठाएका छौं, केही पहल होला भन्ने आशा गरेका छौं ।’

भारतीय एसएसबीले स्ट्रिप नक्सालाई आधिकारिक मानेर सीमामा क्षेत्रमा निर्माण हुने संरचनामा अवरोध सृजना गरिरहेको छ । जुन नक्सालाई नेपालले स्वीकार गरेको छैन । नेपालबाट अस्वीकृत नक्सालाई आधार मान्दै एसएसबीले सडक निर्माणमा अवरोध गरिरहेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले बताए । उनकाअनुसार नेपाल र भारतको सीमा रेखाबाट आधा किलोमिटर चौडा नेपालतर्फ र अर्को आधा किलोमिटर भारतर्फको भू-भाग देखाएर तयार पारेको नक्सालाई नै स्ट्रिप नक्सा भनिन्छ । जसलाई धर्से नक्सा पनि भनिन्छ ।

चार दशक अघि २०३८ दशक अघि नेपाल-भारतको संयुक्त प्राविधि समिति (जटीसी)ले दुई दशक लगाएर स्ट्रिप नक्सा तयार पारेको थियो । सोही नक्साअनुसार २०४५ देखि २०४६ सम्म कञ्चनपुरको नदी क्षेत्र र २०५६ देखि २०६१ सम्म जमिन क्षेत्रको नक्सा पनि तयार भएको थियो । स्ट्रिप नक्सा तयार भएपछि ०६४ मा दुवै देशको प्राविधिक तहमा ९८ प्रतिशत समस्या समाधान भएको भन्दै स्ट्रिप नक्सामा हस्ताक्षर भयो ।

तर कालापानी र सुस्ताको समस्या समाधान हुन नसकेपछि नेपालले उक्त नक्सालाई अस्वीकार ग-यो । अहिले सोही अस्वीकृत नक्साकै आधारमा एसएसबीले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको संयोजक भट्ट बताउँछन् । उनकाअनुसार स्ट्रिप नक्सालाई आधारमा मान्ने हो भने कञ्चनपुरको ठूलो भू-भाग गुम्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *