नेपाली चलचित्रमा महिलाको चित्रण अझै पनि रुढीवादी र नकारात्मक-अध्ययन

काठमाडाैं । ‘नेपाली चलचित्रमा महिला र किशोरीहरुको प्रतिनिधित्व’ शीर्षकमा हालै गरिएको एक अध्ययनले चलचित्रमा देखाइने महिलाको रुढिवादी भूमिकाले महिला र किशोरीमा नकारात्मक असर पार्ने गरेको निष्कर्ष निकालेको छ ।

नेपाली चलचित्रमा महिला वा किशोरीलाई नेतृत्वदायी भूमिकामा बिरलै मात्र प्रस्तुत गरिएको र प्रस्तुत भए पनि महिला पात्रलाई पुरुषको उपभोग वा वस्तुकाे स्वरुपमा सीमित गरेको तथ्य अनुसन्धानले देखाएको छ ।

अध्ययनका अनुसार मुलतः महिला वा किशोरी नेतृत्वदायी भूमिकामा देखाइए पनि महिला पुरुषको दाँजोमा फितलो पात्रमा चित्रित गरिने तथा पुरुषको यौन चाहनाको रुपमा मात्र प्रस्तुत भएको पाइएको प्लान इन्टरनेशनल नेपालले जनाएकाे छ ।

याे अनुसन्धान प्लान इन्टरनेशनल नेपालको गल्र्स गेट इक्वेल अभियान अन्तर्गत भएको थियो । डकस्कुलले गरेको अनुसन्धानमा ४७ वटा चलचित्र, टेलिभिजन, अनलाइन सामाग्रीमा भएका विषयवस्तु र विज्ञापन–चलचित्रको सामग्रीमा केन्द्रित रहेर विश्लेषण प्रस्तुत गरिएको थियाे । साथै, चलचित्रकर्मी, चलचित्र निर्माता र कलाकारहरूसँगको अन्तर्वार्ता र छलफलबाट निष्कर्ष प्रस्तुत गरिएकाे सँस्थाले जनाएकाे छ। अध्ययनका क्रममा चलचित्रका दर्शकहरूसँग पनि समूह छलफल गरिएको थियो ।

अध्ययनका अनुसार चलचित्रमा देखाइएका महिलाहरु प्रायः प्रेयसी/श्रीमती, आमा,सुसारे, वा रखौटीको रुपमा मात्र चित्रित छन् । त्यस्तै, महिलाहरू आफ्नो निर्णय लिन पुरुष पात्रमा नै निर्भर भएको तथा महिला पात्रहरुको निर्णयमाथि प्रश्न उठाउने वा पुरुष पात्रको निर्णय जति सम्मान नदिइएको समेत अध्ययनले दर्शाएको छ ।

अध्ययनले १०२ वटा महिला पात्रको विश्लेषणमा ५ जना पात्रको मात्र आफ्नो लक्ष्य र उद्देश्य भेटाएको छ भने चलचित्रमा देखाइएको महिला पात्र सँधै प्रेमकथाको सानो अंश रुपमा मात्र प्रस्तुत गरिएका छन् । साथै, प्रायःजसो चलचित्रले महिला माथि हुने हिंसालाई सामान्यकरण गरेको पाइएको छ ।

त्यस्तै ३४५ पात्रहरुको अध्ययनमा ८ जना मात्रै यौनिक अल्पंसंख्यक समुदायको सदस्य संलग्न भएको अध्ययनले देखाएको छ, तीमध्ये अधिकांश पात्रहरू हास्यव्यङ्ग्यको लागि मात्र राखिएको पाइएको छ ।

“चलचित्रले हामी सबैमा ठूलो प्रभाव पार्दछ, यसले बालबालिकाको कलिलो मस्तिष्कहरुमा त झन् प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गले प्रभाव पारेकाे हुन्छ”  प्लान इन्टरनेशनल नेपालका इन्फ्लूयन्स, क्याम्पेन तथा कम्युनिकेसन डाइरेक्टर प्रसेनजित खातीले भने  । चलचित्रले हामीलाई पूर्वाग्रही बनाउने तथा सोच र धारणालाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले हाम्रो समाजमा व्याप्त किशोरी र महिलाको जीवनलाई सीधै प्रभाव पार्ने लैङ्गिक आधारका रूढीवादी सोचलाई चुनौती दिन सक्ने युवाले यस खालको अनुसन्धानको नेतृत्व लिएकोमा  खुसी लागेको उनले बताए ।

अनुसन्धान पत्रका सह–लेखक अभिमन्यु दीक्षितले नेपालको चलचित्रमा महिलाहरू सदैव दोस्रो दर्जाको रुपमा मात्र देखिन्छन् । महिला पात्रहरुलाई कि त घरायसी कामकाज गरेको मात्र देखाइन्छ कि त यौन चाहना परिपूर्ती गर्ने पात्रको रूपमा देखाइने र यस्तो प्रतिनिधित्वका बारेमा नेपालमा दशक लामो छलफल भएता पनि एकदमै थोरै परिवर्तन आएको देखिएकोले हामीले यो बहसलाई फेरि अघि सारेका बताए ।

यो अनुसन्धानकाे नतिजा गौथली इन्टरटेन्मेन्टद्वारा आयोजित चार–दिने भर्चुअल कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको हो । अनुसन्धानबारे टिप्पणी गर्दै, चलचित्रकर्मी र समिक्षक मनोज पण्डितले भने “नेपालको अधिकांश चलचित्रले महिलाको आँसु बेच्ने गर्दछ, हामीले कथामा दुःख बेच्छौ किनकि त्यसले राम्रो व्यवसाय गर्छ ।” पण्डितले सिनेमामा मात्र सीमित नभएर ठूलो सामाजिक परिवर्तनमा जोड दिनु पर्ने आवश्यकता औंल्याए ।

चलचित्र विकास बोर्डका अधिकृत चिरन्जीवी गुरागाईले नेपाली चलचित्रमा महिलाको बिषयमा थुप्रै काम भएपनि प्रभावकारी रुपमा अघि बढनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =