कृषि मन्त्रीको दाबी– ‘धान खेतीका लागि मल अभाव छैन’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको दाबी गरेकी छन् । केही दिनयता सरकारले किसानलाई मल दिन नसकेको गुनासाे सार्वजनिक भएपछि कृषिमन्त्री अर्यालले शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन  गरेकी थिइन् । कम्पनीमा मौज्दात रहेको मलको निरीक्षण गरेपछि पत्रकार सम्मेनमा मन्त्री अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताएकी हुन् ।

तर, कोभिड–१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको भएपनि गुनासो आउनेबित्तिकै त्यसको समाधान गरिएको मन्त्री अर्यालले बताइन् ।

‘यो सिजनको धान बाली लगाउने प्रयोजनका निम्ती साउनसम्म हामीसँग मल स्टक छ,’ उनले भनिन्, ‘अहिलेसम्मको तथ्यले खेतीबाली लगाउनसम्मका लागि कुनै समस्या छैन ।’

कोभिड दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा बितरणमा समस्या देखिएको गुनासो आएपनि अहिले त्यसको समाधान भइसकेको उनको भनाइ थियो । यसको विषयमा मन्त्रीपरिषद्मा समेत छलफल गरेर समाधान गरिएको उनले बताइन् ।

आफू मन्त्रालयको नेतृत्वमा आएदेखी नै निरन्तर रुपमा मलको अवस्थाका बारेमा छलफल गर्दै त्यसको व्यवस्थापनमा जुटेको भन्दै मन्त्री अर्यालले मलको बितरण गर्दा दैनिक आपूर्ती र बितरणको अवस्था अद्यावधिक गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिइन् ।

मल बितरण गर्दा कृषकको पहिचान सहित मल बितरण गर्न निर्देशन दिँदै मन्त्री अर्यालले सहकारी संस्थाले मल लैजाने सन्दर्भमा एकचोटी लमल लगिसकेपछी त्यसको उचित बितरणको अवस्था, मूल्य खुल्ने व्यवस्थित दस्तावेज सहित माग गर्न आउनेलाई मात्र पुनः मल उपलब्ध गराउन निर्देशन दिइन् । मलको समस्या दीर्घकालका लागि समेत समाधान गर्न सरकार निरन्तर लागिरहेको भन्दै उनले त्यसैका निम्ती मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढेको बताइन् ।

भारतसँगै बंगलादेश, चाइना, ओमान लगायतका देशहरुसँग समेत मलको विषयमा छलफल अगाडी बढेको भन्दै मन्त्री अर्यालले ती देशहरुबाट सकारात्मक सन्देश प्राप्त भएको बताइन् ।

यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हाल रासायनिक मलको समस्या नरहेको बताएका छन् । मलको हालको अवस्थाको बारेमा जानकारी दिँदै शुक्रबार यी दुई कम्पनीले मलको समस्या नरहेको जानकारी दिएको हो ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग गरी हाल जम्मा ३५ हजार २ सय ९० मेट्रिक टन यूरिया, ५३ हजार ७ सय ३० मेट्रिक टन डिएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको जानकारी दिएको हो । त्यस अवसरमा ६५ हजार मेट्रिक टन यूरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी दिइएको थियो ।

जम्मा मौज्दात रहेको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार २ सय ८६ मेट्रिक टन डिएपी, ४ हजार १ सय ४६ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन मौज्दात रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार २ सय ४ मेट्रिक टन यूरिया, १४ हजार ४ सय ४४ मेट्रिक टन डिएपी र ३ हजार ८ सय ९६ मेट्रिक टन पोटास रासायनिक मल मौज्दात रहेको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकारी उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

रासायनिक मलको अभाव नरहेको र ढुवानीमा देखिएको समस्या पनि सरकारले समाधान गरिसकेकाले ढुक्‍क रहन कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *