एमाले एकता कायम रहने दाबी, बैठक भने छुट्टाछुट्टै

काठमाडौं । लचकता अपनाएरै भएपनि एक भएर अगाडि जाने भनेर भनिरहेका एमालेका दूई पक्षले छुट्टाछुट्टै बैठक आह्वान गरेका छन् । ‘सत्तारुढ एमाले’ले ४ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक आह्वान गरेकाे छ भने ‘विपक्षी एमाले’ले भर्च्यूअल रुपमा बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले पछिल्लो पटक बनाएको स्थायी कमिटी सदस्यहरु उपस्थित हुनेछन् भने भर्च्यूअल बैठकमा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरु उपस्थित हुनेछन् । खनाल-नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले मकालु खबरसँग भनिन्— ‘एमालेकेन्द्रित वर्तमान राजनीतिबारे ब्रिफिङ्ग तथा छलफल हुने भनेर कमरेडहरुले भन्नुभएको छ । त्योसँगै एमालेको अबको भविष्यबारे पनि छलफल हुनेछ ।’

बालुवाटारमा भने एमालेलाई एक बनाएर कसरी अगाडि लाने भन्नेबारे नै छलफल हुने कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले दाबी गरे । ‘एमालेलाई छुटाएर लाने भन्ने होइन कि,’ नेम्वाङ्गले मकालु खबरसँग भनिन्— ‘कसरी एक बनाएर लाने भन्नेबारे लगातार छलफलहरु भइरहेका छन् । आजको बैठकमा यीलगायतका विषयमा छलफल होला ।’

ओली—नेपाल आफ्नो अडानमा दृढ रहँदा टर्दै गएको एमाले एकता कायम रहन्छ कि रहँदैन भन्नेतर्फ नेताहरुले ध्यान दिन थालेका छन् । नेता नेपालले ०७५ जेठ २ मै पार्टी फर्किनुपर्ने, ०७८ फागुन २८ गतेयता पार्टी कमिटीहरुले गरेका निर्णयहरु निःसर्त खारेज हुनुपर्नेलगायतका मागलाई आफ्नो ‘बटमलाइन्’ बनाएका छन् भने ओली पछाडि नफर्किने मनस्थितिमा छन् ।

यसअघि सत्तारुढ एमालेको स्थायी कमिटी बैठकबाट विपक्षी एमालेका ११ जना नेता पार्टीबाट कारबाहीमा परेका छन् । त्यसपछि थप चिढिएका नेपाललाई जनसंगठनहरुका नेताहरुले अर्को पार्टी खोल्न दबाब दिइरहेका छन् । त्यसो त यसअघि वरिष्ठ नेता झलनाथ खनालले पनि ‘नयाँ पार्टी खोल्छौँ’ भनेर भनिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *