स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट, दोषीलाई कारबाहीको माग

विराटनगर । कोशी अस्पतालका सिनियर अहेबलाई प्रहरीले कुटपिट गरेपछि कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रहरीले स्वास्थ्यकर्मीमाथिको ज्यादती बढेको बताएका छन् ।

गएराति साढे ९ बजे कोशी अस्पतालबाट कार्यालयको काम सकेर घर फर्कने क्रममा सिअहेब अशोक राजवंशीलाई हाटखोला नजिकै प्रहरीले घाइते हुनेगरी कुटपिट गरेको हो । डिउटीमा बसेका सुरक्षाकर्मीले कुटपिट गरेर आफ्ना कर्मचारी घाइते भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले बताए । ‘करिब ९ बजेतिर घर जाँदै गर्दा देवकोटा चोकबाट अघि हाटखोला नजिकै प्रहरीले हाम्रो कर्मचारीमाथि कुटपिट गरेको हो,’ उनले मकालुखबरसँग भने, ‘यो बारेमा हामीले मोरङका एसपीसँग कुरा गरिसकेका छौँ ।’ प्रहरीको कुटपिटबाट स्वास्थ्यकर्मी राजवंशीको दाहिने घुँडामा चोट लागेको छ ।

घाइते स्वास्थ्यकर्मी राजवंशीका अनुसार राती आफू कार्यालयको काम सकेर घर फर्कँदै गर्दा प्रहरीले बाटो रोक्न लगायो राति किन हिँडेको भन्दै लौरैलौराले हानेको हो ।

प्रहरीलाई आफू स्वास्थ्यकर्मी भएको कार्यालयको काम सकेर आएको भनी जानकारी गराउँदा समेत कुटेको उनले जानकारी दिए । ‘कुटपिट गर्ने प्रहरीसँगै रहेका अर्का प्रहरीले उहाँ स्वास्थ्यकर्मी हो भने छाड्दे भन्दै गर्दा पनि कुटपिट भयो,’ उनले भने, ‘घुँडामा निक्कै चोट लागेको छ, कार्यालयको काम गरेर फर्किन पनि समस्या हुने भयो, कसरी काम गर्नु हो ?’

कुटपिट भएको बारेमा राजवंशीले कोशी अस्पतालका मेसु देवलाई फोन गरेर जानकारी गराएका थिए । लगत्तै उनले एसपी सन्तोष खड्कालाई स्वास्थ्यकर्मी कुटिएको बारेमा जानकारी गराएपछि त्यहाँबाट कर्मचारीलाई छाडिएको डाक्टर देवले बताए । कर्मचारी आन्दोलित हुने अवस्था आएपछि बिहानै एसपी खड्कालाई बोलाएर घटनाको बारेमा तथ्य छानविन गरी कारबाही गर्न भनिएको थियो ।

कोशी अस्पतालमा भएको छलफलको क्रममा एसपी खड्काले कुटपिट गर्ने प्रहरी पहिचान भएकाले कारबाही गरिने उनले प्रतिबद्धता जनाएका थिए । कुटपिट गर्ने प्रहरीलाई कारबाही नगरे , प्रहरीको व्यवहार नसुध्रिए स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् ।

प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने, राति काम सकेर फर्किएको समयमा दुःख दिएर कार्यालयमा फर्काउनेजस्ता कार्यले स्वास्थ्यकर्मी असुरक्षित रहेको स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले बताउँदै आएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघकी प्रदेश १ ईन्चार्ज अन्जना पोखरेलले कोभिडको महामारीमा रातदिन परिवार नभनी काम गर्ने स्वास्थ्यकर्मीमाथिको आक्रमणको भर्त्सना गरेकी छिन् । पोखरेलले एउटा स्वास्थ्यकर्मीले आफ्नो परिचयपत्र देखाएर कार्यालयबाट फर्किएको भनिरहँदा कुटपिट गर्नुले स्वस्थ्यकर्मीलाई गम्भीर बनाएको बताएकी छन् । उनले तत्काल प्रहरीका यस्ता कार्य रोक्न माग गरेकी छिन् ।

प्रतिक्रिया

One thought on “स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट, दोषीलाई कारबाहीको माग

  1. एपोलो कुमार भगत स्वास्थ्य कर्मी ा says:

    दोषी प्रहरीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायको ध्यान जाऔस नत्र स्वास्थ्य कर्मी हरु ले आन्दोलन गर्न बाध्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *