पूर्ण बजेट आएकोमा विरोध गर्नु संविधान विपरितः अर्थमन्त्री

बजेट सकारात्मक छ भन्ने सवै क्षेत्रबाट प्रतिकृया पाइरहेको छु । निजी क्षेत्रले दिएका सुझाबलाई बजेटमा समावेश गर्न हर सम्भव प्रयास गरेको छु ।

कोभिडको कारणले हाम्रो अर्थतन्त्रलाई पारेको प्रभाव हटाउँदै बजेट कार्यान्वयन गर्ने गरी ल्याइएको हो । त्यसो हुँदा हामीले खोप र स्वास्थ्यका अन्य पूर्वाधारलाई जोड दिएका छौं । कार्यान्वयनका सम्बन्धमा अझै पनि केही आशंका र चुनौती बाँकी छन् । तर, मैले यसअघि पनि भनेको थिएँ । यो बजेट सुनाउनका लागि मात्र ल्याइएको होइन । कार्यान्वयन हुन्छ । यसमा कुनै द्विविधा नराख्न म सरकारको तर्फबाट सबैलाई आग्रह गर्छु ।

बजेट कार्यान्वयत गर्न हरेक मन्त्रालयलाई टाइम बाउन्ड क्यालेन्डर बनाउने र सबै सरोकारवाला बसेर छलफल गरि त्यसलाई अघि बढाउने तयारी गरेका छौं । र, समग्र बजेटको कार्यान्वयनका लागि पनि एउटा टाइम बाउन्ड क्यालेन्डर बनाइ त्यसैअनुसार कार्यान्वयन गर्नेछौं ।

हामी चुनावमा जानुपर्ने अवस्थामा छौं । निर्वाचन सरकारको छनोट थिएन । तर, परिस्थितिले मुलुक निर्वाचनमा जान लागेको छ । निर्वाचन हुँदैछ अहिले बजेट नल्याऊँ भनेर भन्नु र सोच्नु देश र जनताका लागि आत्मघाती हुने देखिन्छ । त्यसो हुँदा हामीले चुनाव पनि गर्ने र संँगै बजेट पनि कार्यान्वयन गर्ने गरी अघि बढेका हौं ।

अहिले जुन पार्टी सरकारमा छ । यो पार्टी त्यसै उछलकुद गरेर सरकारमा आएको होइन । संवैधानिक मापदण्ड पूरा गर्दै प्रतिस्पर्धाबाट सरकारमा आएको हो । यो पार्टीलाई जुन जनादेश जनताबाट प्राप्त भएको थियो त्यसो अहिले पनि छ । अर्को निर्वाचन भएर जनादेश खण्डित भएको छैन । त्यसैले पनि हामीले पूर्ण बजेट ल्याएका हौं ।

बजेटको समग्रतामा विरोध भएको छ । पूर्ण बजेट आउनु हुँदैन भनियो । यो संविधानको भावना र मर्मविपरीतको भनाई र विरोध हो । बजेटको विरोध गर्नेहरुले पनि हामीले अहिले ल्याएको बजेटको कुन कुरा चाहिँ बेठिक भयो भनेर किटानका साथ भन्न सकेका छैनन् । त्यसो हुँदा पनि हामीले ल्याएको बजेट सकारात्मक र उत्कृष्ट छ भन्ने सबैलाई लागेको छ । तर, बजेट कार्यान्वयनमा मात्रै सबैजसो पक्षले चुनौती देख्नु भएको छ ।

आज जसले यो बजेट प्रस्तुत गरेको छ, बजेट कार्यान्वयन गर्ने हैसियत पनि यही पार्टीले प्राप्त गरेर निर्वाचतबाट फेरि पनि चुनिएर सरकारमा आउँछ भन्ने विश्वास हामीलाई छ ।

आलोचना गर्ने राजनीतिक दलका व्यक्तिहरुले भन्नुहोस्- तपाइँलाई बजेटको के कुरा मन परे । विनियोजन, राजस्वका स्रौत वा केमा चित्त बुझेन तोकेर तथ्यगत रुपमा आलोचना गर्दा हामीले त्यसको सही जवाफ दिन सक्ने थियौं । तर, थोकमा गरिएको विरोधले बजेट कमजोर भएको भन्ने देखिँदैन ।

निजी क्षेत्रहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले राखेको प्रतिक्रिया सन्दा मलाई यस प्रकारको बजेट ल्याउन पाएकोमा साँच्चै गर्वबोध भएको छ । निजी क्षेत्रले यत्तिको सकारात्मक र सन्तुष्टि देखाएको बजेटले पक्कै पनि देशको आर्थिक समृद्धिमा टेवा दिनेछ ।

अन्त्यमा, नेपाल कोभिड-१९ विरुद्धको खोप उत्पादक देश होइन । आफैंले उत्पादन गर्न सके असाध्यै राम्रो हुने थियो । तर, खोपको प्रयोगको सन्दर्भमा दक्षिण एसियामै भारतपछि नेपाल दोस्रो मुलुक भएको थियो । त्यसो हुँदा फेरि पनि हामीले खोप ल्याउन अहिलेबाटै प्रयासरत छौं ।

६.५ प्रतिशतको आर्थिक वृद्धि र १० खर्ब २४ अर्ब राजस्व उठाउने लक्ष्यका बारेमा धेरै शंका व्यक्त भएका छन् । तर, हामीले कोभिड-१९ विरुद्धको खोप सबैलाई पु¥याएर आर्थिक गतिविधि पूर्ण रुपमा सुचारु गराउने र अर्थतन्त्रलाई लयमा फर्काएर यो लक्ष्य पूरा गरेरै देखाउने छौं ।

(अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल आर्थिक पत्रकार समाज सेजनले सोमबार गरेको बजेटसम्बन्धी अन्तरक्रियामा राखेको विचार)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =