‘खोप ल्याएर कोभिड नियन्त्रण गर्ने गरी १० खर्ब २४ अर्बकाे राजस्व लक्ष्य निर्धारण गरेका हौं’

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोभिड–१९ महामारी नियन्त्रण गर्ने सर्तमा मात्रै आगामी आर्थिक वर्षको बजेटमा राजस्वको लक्ष्य निर्धारण गरेको बताएका छन् । चालू आर्थिक वर्षको अहिल्यैबाट सबै नागरिकका लागि खोप ल्याउन सरकार लागि पर्ने र खोप लगाएर कोभिड–१९ को नियन्त्रण गरेपछि आगामी आर्थिक वर्षको राजस्वलगायत बजेटले राखेका सबैजसो लक्ष्य पूरा हुने उनको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब २४ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको कुल बजेट १६ अर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको रहेको छ । तर, हाल आठ खर्ब हाराहारीमा राजस्व संकलन हुँदै आएको र कोभिड महामारीले आर्थिक गतिविधि ठप्प भएका बेला सरकारले १० खर्ब भन्दा बढी राजस्व उठाउन लक्ष्य आगामी आर्थिक वर्षका लागि राखेपछि त्यसमा धेरैले शंका गरेका छन् । अर्थमन्त्रालयले बजेटबारे जानकारी दिन आइतबार आयोजना गरेको पत्रकार सम्मेलमा त सरकारले महामारी विर्सिएर बजेट ल्याएको भन्ने प्रश्न समेत उठेको थियो ।

‘सरकारले महामारी विर्सिएको छैन,’ उनले भने, ‘महामारीलाई मख्यु चुनौतीको रुपमा लिएर त्यसलाई सामना गर्ने गरी यो बजेट आएको छ । हामीले कोभिड अन्त्य भएपछि मात्रै राजस्वका लक्ष्य निर्धारण गर्ने छौं भनेर बस्न मिल्दैन । त्यसो हुँदा हामीले कोभिड विरुद्धको खोपको प्रबन्ध गर्छौं र कोभिड नियन्त्रण गर्छौं भन्ने शर्तका साथ राजस्वका लक्ष्य निर्धारण गरेका छौं । यो वर्ष अझै ४५ दिन छ । यी दिनमा हामी तमासा हेरेर बस्ने होइन । आम नागरिकलाई खोपको प्रबन्ध गरेर कोभिड नियन्त्रण गरी राजस्वको लक्ष्य निर्धारण गरेका छौं ।’

मतदातालाई प्रभावित गर्नका लागि नभई सरकारले आफ्नो अभिभावकीय दायित्व तथा अभिभारा पूरा गर्नका लागि बजेट ल्याएको बताए । ‘सरकारले यो बजेट ल्याउँदा मतदातामा के प्रभाव पर्छ भन्नेमा भन्दा पनि जनताप्रतिको दायित्व पूरा गर्ने कुरालाई ध्यान दिएर यो बजेट ल्याएको हो,’ उनले भने, ‘जनतामा सरकारको सकारात्मक प्रभाव पर्छ भनेर दायित्वबाट सरकार पन्छिनुपर्छ भन्ने तर्कलाई मैले कुनै जवाफ दिनुपर्छ भन्ने पनि लाग्दैन । ’

संवैधानिक प्रक्रिया अनुसार नै यो सरकार सत्तामा रहेको बताए । ‘सरकारलाई निरन्तरतामा बुझ्नु पर्छ,’ उनले भने, ‘जनताको विश्वास जित्ने अधिकार अहिले सरकारमा रहेको दललाई पनि छ । धेरै विवाद गर्नु आवश्यक नभएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =