प्रदेश १ का उद्योगी

काेभिड केन्द्रित बजेट राम्राे तर सेज सँधै अध्ययनमा, विकासमा विभेद किन?

विराटनगर । सरकारले ल्याएकाे नयाँ  बजेटमा प्रदेश १ का उद्योगीले मिश्रित प्रतिक्रिया दिएका छन् । कोभिड नियन्त्रणका लागि स्वास्थ्य र खाेप लक्षित बजेट आएकोमा उनीहरुले सरकारकाे प्रशंसा गरेका छन् । तर सुनसरीको अमडुवामा निर्माण हुने भनिएको सेजलाई हरेक वर्ष अध्ययनमा मात्रै सीमित राख्नु र त्यसका लागि बजेट नल्याउनुले दुखद् भएकाे उनीहरुले प्रतिक्रिया छ । यो वर्षको बजेटले विकास निर्माणमा मोरङ, सुनसरीलाई छुन नसकेको उनीहरुले मकालु खबरलाई प्रतिक्रिया दिएका छन् ।

सुयेशराज प्याकुरेल

अध्यक्ष, उद्योग संगठन मोरङ

बजेटले समग्रमा राखेको ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि  हासिल हुन सक्नेमा शंका छ । कोभिडका बेलामा गाह्रो हुन्छ कि भन्ने कुरा हो । हामीले उठाएका केही मुद्दा सम्बोधन गर्ने प्रयास भएको छ । सामाजिक सुरक्षामा आबद्ध भएका प्रतिष्ठानले कोभिड अवधिको सामाजिक सुरक्षाको रकम सरकारले व्यहोर्ने भन्ने कुरा राम्रो हो । स्टार्टअप परियोजनामा २५ लाख ऋण दिने कुराले युवालाई उद्यमतर्फ आकर्षित गर्छ । उद्योगमै बसेर तालिम लिने र उद्योगमा काम गर्ने कार्यक्रमले उद्योगीलाई हौस्याएको छ । उद्योगमा बसेर तालिम लिने र त्यो तालिम बापतको रकम सरकारले दिने भन्नुले रोजगारी सिर्जना गर्ने विश्वास गर्न सकिन्छ । युवा उद्यमीलाई आकर्षित गरेको छ । डिजेलमा भ्याट छुट गर्नु राम्रो हो । पूर्वाधार, रेल्वे, सडक बिस्तार, जल मार्गकाे विकासका लागि सरकारले गरेकाे व्यवस्था पनि राम्राे छ । औद्योगिक प्रदर्शनी स्थलको स्तरोन्नती गर्ने याेजना बजेटमा छ । तर त्यो स्तरोन्नती नभई नयाँ निर्माण हुने कुरा हो । वस्तु विनिमयको कुरा पनि आएको छ, आन्तरिक र कृषि बजारमा किसानले मूल्य बढी पाउने देखिन्छ । यसले उत्साहित बनाएकाे छ । तर, कार्यान्वायनको लागि पनि कुरा उठेको छ । अमडुवाको औद्योगिक क्षेत्र अध्ययन गर्ने भनिएको छ । ४ वर्षदेखिका हरेक बजेटले याे अध्ययन गर्ने भन्दै अाएका छन् तर कहिलेसम्म अध्ययन सक्ने भन्ने टुंगाे छैन ।

भीम घिमिरे

अध्यक्ष, नेपाल उद्योग परिसंघ प्रदेश १
बजेटले कोभिडलाई प्राथमिकतामा राखेको राम्राे हाे । सबै क्षेत्रलाई स्वास्थ्य बिमा अनिवार्य गरेको छ । पत्रकारको लागि औषधि उपचार र स्वास्थ्य बिमा निःशुल्क हुनु अग्रस्थानमा रहेर काम गर्नेका लागि राम्रो हो । युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण, प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम पनि राम्रो छ । जेष्ठ नागरिकलाई बढाइएको सामाजिक सुरक्षाको रकम, विद्युतमा दिइएको छुट, उत्पादन र कृषिमा सहयोग राम्रो कार्यक्रम हो । भूमि बैंकको स्थापनामा बजेट आएको छ । भूमिको वर्गीकरण गर्न बजेट आउनु अत्यन्त राम्रो पक्ष हो । अमडुवा सेज अध्ययनको कुरा राम्रो छ, तर पटक पटक अध्ययन मात्र भनेर आएको छ। अब अध्ययन भन्दापनि काम हुनुपर्छ । प्रदेश सरकार, बिराटनगर महानगरपालिका, उद्योग संगठन र मोरङ ब्यापार संघद्वारा निर्मित प्रदर्शनी स्थल स्तरोन्नतीको बजेट आएको छ । काठमाडौँ उद्योगलाई हेटौंडामा स्थापित गर्ने सबैभन्दा राम्रो बजेट आयो । १ प्रतिशत मेसिनमा, १० बर्ष लिज निःशुल्क लगायतका विषयले काठमाडौँको प्रदुषण घटाउनेछ । लामो समय नविकरण नभएका, लाइसेन्स भएका तर सञ्चालककाे मृत्यु भएका तथा उद्योग बन्द भएका त्यस्ता उद्योगलाई असोजसम्ममा १० प्रतिशत मात्र राजस्व लिएर नविकरण गर्न पाउने व्यवस्थाले बन्द भएका उद्योगलाई पनि कानुनी दायरामा ल्याएको छ। सबै पक्ष राम्रा हुँदा हुँदै पनि कार्यान्वयनमा समस्या छ । विकास निर्माणमा सुनसरी र मोरङलाई उपेक्षा गरेको छ । कुनै पनि विकासको कुरा गरेको छैन । झापा, मकवानपुर र बुटवल हुँदै बजेट पश्चिम गएको छ । सिंचाईको ठूलो काम गरेको सुनसरी मोरङ आयोजना बजेटले छोएको छैन, उपेक्षा गएिको छ।

अभिनाश बोहरा

उद्योगी, उद्योग वाणिज्य महासंघ, प्रदेश १
समग्रमा अहिलेको अबस्थामा निक्कै ठुलो बजेट आएको छ । अाकार पनि बढेको छ । पहिलो प्राथमिकता जेलाई दिनुपर्ने हाे, त्यसलाई दिइएको छ । स्वास्थ्य र कृषि अहिलेको बजेटको प्राथमिकतामा परेको देखिन्छ । बिषम परिस्थितीमा संसद नभएको र अध्यादेशबाट बजेट आएको अबस्थामा सबै क्षेत्रलाई समेट्ने गरी संरचना नै परिवर्तन हुन खालको व्यवस्था अउनुपर्ने थियो त्यो देखिएन । स्वास्थ्य संकटको कुरालाई बजेटले निक्कै छोएको छ ।

आगामी वर्षमा सबैलाई खोप दिने भन्ने कुराले सबैको भावनाको प्रतिनिधित्व गर्छ, यो फास्टट्याकबाट लगिनु पर्छ । राजस्व बढेको अबस्थामा तोकिएको राजस्व नठ्दा बाह्य ऋण र आन्तरिक श्रोतमा कमी हुने हो की भन्ने देखिन्छ । उत्पादनसँग जोडियो भने त्यसले फाइदा नै हुन्छ । कृषिमा पनि राम्राे छ । कृषि बैंक, २ सय खाद्य भण्डार, कृषि थोक भण्डारको कुरा पनि राम्रो छ । हरेक वर्ष कृषिमा फरक उत्पादनको लक्ष्य लिएको छ यो एकदमै राम्रो हाे । किसानले पाउने मूल्य र वस्तु विनिमयको कुराले किसानलाई हौस्याउने छ । उत्पादनको लागि राज्यले लिजमा जग्गा दिने कुरा पनि राम्रो आएको छ । स्वादेशी उत्पादनलाई प्रोत्साहन गर्नु राम्रो भए पनि सेज सँधै अध्ययनमा मात्र राख्दा हामीलाई निराश बनाएको छ । श्रमको अवस्था, ठुला उद्योगका कुरा दयनीय छ । यसलाई बजेटले नछोएको देखिन्छ । सर्टिफिकेट राखेर २५ लाख ऋण दिने कुरा राम्रो छ । पुनर्कर्जाकाे दिने कुरा राम्रो रहे पनि कार्यान्वयनमा हुने झण्झटलाई कम गर्नुपर्छ ।

प्रकाश मुण्दडा

अध्यक्ष, मोरङ ब्यापार संघ

बजेट एकदमै लामो र राम्रो लागेको छ । कोभिड र भ्याक्सीनको लागि बजेट दिइएको छ। स्वास्थ्य क्षेत्रमा केही गर्ने सोच बजेटमा देखिन्छ । बिराटनगरको औद्योगिक करोडोरका कुरा केही समावेश भएका छन् । हाम्रो माग प्रदर्शनी केन्द्रको थियो । त्यो बजेटले समेटेको छ । विराटनगर विमानस्थलको संरचना बन्ने कुरा सकारात्मक छ । अमडुवामा सेज अध्ययनको लागि मात्र भनिएको छ । यो कुराले हामी दुखि छौँ । बर्जुतालको संरक्षणको कुरा राम्रो छ, समग्रमा बजेटले सबै क्षेत्र समेटेकोमा हामीलाई यो कार्यान्वायन पक्षमा भर पर्ने हो भन्ने लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *