चलचित्र क्षेत्रमा बजेट : विद्युत् खपत छुटदेखि सातै प्रदेशमा स्टूडियो सञ्चालनसम्म

काठमाडौँ । सरकारले कोरोना महामारीका कारण प्रभावित चलचित्र क्षेत्रलाई विद्युत् खपतमा छुट दिने भएको छ । शनिवार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आव २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चलचित्र उद्योगले डिमान्ड शुल्कबापत् दिनुपर्ने शुल्कलाई छुट गरिएको घोषणा गरेका हुन् ।

त्यस्तै चलचित्र क्षेत्रलाई व्यावसायिक हितका लागि व्यावसायिक नियन्त्रण कोषद्धारा सहयोग गरिने भएको छ । चलचित्र छायांकनका लागि सातै प्रदेशमा चलचित्र स्टूडिओ सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । चलचित्रसहित सबै किसिमका उद्योगहरुलाई ५० प्रतिशत घर भाडा छुटको व्यवस्था पनि सरकारले गरेको छ ।

काभ्रेपलान्चोक जिल्लाको बनेपामा अत्याधुनिक चलचित्र स्टूडियो निर्माण गरिने भएको छ । त्यस्तै गणेश हिमालसम्म चलचित्र छायांकनका लागि सडक निर्माण तथा आवश्यक पूर्वाधार तयार पारिने पनि सरकारले जनाएको छ । मौलिक चलचित्र प्रोत्साहन गर्न ‘स्टोरी बैंक’ लाई निरन्तरता दिइने छ ।

चालू आवमा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिइने भएको छ । मौलिक चलचित्र प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गर्न आवश्यक कार्यक्रमको लागि बजेट उपलब्ध गराइनेछ । त्यस्तै चलचित्र उद्योगमा प्रयोग हुने सामाग्रीमा भन्सार छुट गरिने पनि सरकारले घोषणा गरेको छ ।

कोरोना महामारीका कारण यस क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *