म किन केही नगरौँ ?

तिमीले किन काम गर्नु पर्यो र ?
म किन केही गरौं ?
म किन केही नगरौँ ?
म किन केही गरौं ? म किन केही नगरौँ ?

जब म कामको खोजीमा यताउता भौँतारिन्छु, वा कसैसँग कुरा गर्छु धैरेको ईष्टमित्र, छर छिमेकी वा साथीहरु भन्छन्— ‘तिमी विदेश जाऊ । त्यहाँ तिमीले राम्रो अवसर पाउँछौ ।’ कोही भन्छन्— ‘तिमीले काम गर्नुपर्ने कुनै जरूरी नै देख्दिनँ म’, ‘के काम–काम भनिराको’, ‘किन गर्नुपर्यो र काम ?’ यस्तै यस्तै… ।

ती कुराले मलाई सोच्न बाध्य बनाउँछ कि जरूरी भन्नाले के हो ? के जरूरी भएमात्र काम गर्नु पर्छ ? नभए घरमा सुतेर खानुपर्ने हो र ? अनि, काम गर्नु भनेको बाँच्नलाई गाह्रो भएर मात्र हो ? के काम गर्नु भनेको केही हजार तलब पाउनु वा गुजारा गर्नु मात्र हो त ?

सानै हुँदा मामाघर गएका बेला हजुरबुबा काम गरिरहनुभएको हुन्थ्यो । बुढेसकालमा किन काम गर्नु भएको ? सबैजसोका प्रश्न हुन्थे । उहाँ भन्नुहुन्थ्यो— ‘केही नगरी खायो मात्र भने अन्नले सराप्छ, त्यसैले सकेको गर्नुपर्छ ।’ मलाई यो कुराले खुब छोएको थियो । अहिले पनि म यो कुरा सम्झिरहन्छु, बारम्बार । खासै केही नगरिरहेकोले पनि होला मलाई घरीघरी ‘मैले खाएको अन्नले मलाई पनि सरापिरहेको पो छ कि’ जस्तो पनि लाग्छ ।

हो, जागिरै नगरेर पनि खान, लाउन त पुगेकै छ । यसो भन्दैमा न के त म चुपचाप हात बाँधेर बसौँ त ? यसो गर्न मेरो चेतन शक्तिले दिँदैन । तपाईँ भन्नुहोला आफैं केही गर्नु नि त । यो बढो भवसागर जस्तो कुरा लाग्छ मलाई यो ‘केही’भित्र पर्ने कुरा के–के हुन् ? कसरी छान्नु ? र समस्या यो पनि हुने रहेछ कि– कसरी थाल्नु कि म यहि चाहीँ गर्छु भनेर ?

मानिसले हातगोडा चलुन्जेल काम गर्छन्, आफ्नो लागि र आफ्नो सन्ततिको लागि । आफ्नो परिचयका लागि र शायद योगदानका लागि पनि । खरबौँ खरबौँपतिले पनि काम त गरिरहेकै हुन्छ । अझ थप कमाउने लालसा हुँदो हो उसको । अथवा हुँदो हो कसैले धनमा मलाई जित्ला कि भन्ने त्रास पनि । बाँच्नै वा खानै मात्र त उसलाई पनि हात बाँधेरै वा सुति–सुति नै पुग्दो हो नि । काम गर्नु भनेको नित्य पूजा गरे सरह हो । जहाँ कामको माया हुन्छ त्यहाँ सम्मानको भाव आफै आउँछ ।

मेहेनती हातहरू, सीप भएका कति नागरिक होलान् यो देशमा । सबैले आफ्नो मेहेनतको फल पाएका होलान् ? जीवनस्तर सुधारिएको छ होला र ? किन यतिका नागरिक हरेक दिन परदेशको बाटो रोज्छन् ? के साँच्चै परदेशमा सुख छ होला ? वा सुख छ भन्ने आशा मात्र होला ? वा यहाँ केही थालिनँ वा थालेको राम्रो गर्न सकिन अब उता गएपछि केही त कसो नहोला भन्ने लालसाले मात्र उनीहरुलाई उडाउँदो हो परदेशको भूमिमा आफ्नोपन छोडेर, आफ्नाहरु छोडेर ?

अहिल्यै त होइन, शायद केही दशकपछि भने हाम्रो समाजमा केही गर्छु भन्दा किन गर्नुपर्यो ? भन्ने प्रश्न होइन कि, किन केही नगरेको भनेर प्रश्नहरु सोधिनेछन् । कामना गरौं ।

गरिबीको चपेटामा मानिस के गर्दैन ? हर सम्भव काम गर्न तत्पर रहन्छ । परदेशमा काम गर्ने सोच गर्छ । कामको खोजीमा होस् या पढाईको शिलशिलामा होस्, हामी विदेश जान पाए हुन्थ्यो, गइदिए हुन्थ्यो भन्ठान्छौँ । घरबारी, जग्गा जमिन धितो राखेर आँखामा अनेकन सपना सजाई विदेश जान्छौं । के विदेशमा सबै सपना पूरा हुन्छन् त ? आफूले सोचेजस्तो हुन्छ त ? खोई गएकाहरु कोही ठिकै मात्र भन्छन् कोही वित्थामा आएछु भन्छन् । गएर गजब गरें भन्नेहरु थोरै मात्र भेट्छु म ।

परिवारको साथ, बुवा–आमाको काख छोडेर खाडीको चर्को घाम, सुख्खा जमिनमा रगत बगाउन तत्पर रहने हाम्रा दाजुभाई, दिदीबहिनी स्वदेशको मलिलो माटो बाँझो राखेर विदेश जान्छन् । दलालको चंगुलमा फसेका उनीहरु आँखामा नअटाउने सपना देखिरहेका हुन्छन् ।

हवाईजहाजले जति बादललाई छुदै उडिरहेको हुन्छ, त्यसरी नै सपनाहरुले पनि उडान भरिरहेका हुन्छन् । ती सपनाहरुको पँखेटा त्यतिबेला एक–एक गरी झर्दै जान्छन् जब सोचेभन्दा फरक काम हुन्छ । उजाड, बन्जर जमिन, तातो रापमा काम गर्नु पर्ने दिन आउँछ । परिवारको याद आउँदो हो, बुवा–आमाको मायाले सताउँदो हो । पीडाले पिरोल्दो होला, रातो दिन र शायद मरुभुमिमा अलिकति आँशुले सम्झनाको आँत भिजाउँदो हुन उनीहरु ।

कारणहरु जे–जे भएपनि आखिर केही गरौं भन्ने त्यहि हुटहुटीले लखेटेको न हो उनीहरुलाई । जुन हुटहुटी मभित्र पनि छ र त सुनाउँछु मनले खाएका आफन्त साथी वा अभिभावकलाई ।

कतिका सपना देख्ने आँखा नै सँधैका लागि चिम्म हुन्छन् र कतिको जिन्दगी थप पीडादायी मोडमा पुग्छ ।

समाजमा केही अभिभावकको बाध्यता पनि छ कि आफ्नो सन्तान पनि विदेश जाओस् । केही कमाओस् र पठाओस् यताको गर्जो टार्नलाई । वा जिन्दगीमा आवश्यक पर्ने आर्थिक प्रवन्ध अलि राम्रो बनाओस् भन्ने लाग्दो हो । यसको पनि त अर्थ उही न हो कि– सन्तानले केही गरोस् । केही गर्ने सपनाहरु कतिका पूरा हुन्छन् कतिका त्यसै सेलाउँछन् । कतिका सपना देख्ने आँखा नै सँधैका लागि चिम्म हुन्छन् र कतिको जिन्दगी थप पीडादायी मोडमा पुग्छ । तैपनि तमाम् दुःखका बिच मानिसले केही गर्ने सपना त्याग्न सक्दैन रहेछ । जतिसुकै जोखिम भए पनि । जतिसुकै समस्या भएपनि ऊ ती सबै चिरेर ‘केही गर्न’खोजिरहने रहेछ ।

जस्तो कि म खोजिरहेको छु । केही त गर्ने तर के गर्ने ? मैलाई थाहा छैन । र मलाई यो थाहा छ कि यसरी थाहा नहुने म मात्र होइन मजस्तै धेरै छन् जो ‘केही गर्न’चाहन्छन् ।

यो विरोधाभाष खासमा हाम्रो शिक्षाले दिएको हो । हाम्रो शैक्षिक स्तर कस्तो छ ? हाम्रो पढाई कागजका केही प्रमाणपत्र मै सिमित छ कि केही गर्न सिकाउने छ ? देशमै खोजिरहेको के हो अनि विदेशमा विकिरहेको के हो ? हामी आम मानिसलाई थाहै छैन । फेरि अर्कोतिर कतै जागिरै पाउनु मात्र पनि सबैकुरा होइन आफूले मनले खाएको काम गर्न पाइयो कि पाइएन भन्ने पो महत्वपूर्ण कुरा हो त भन्ने तर्कहरु पनि प्रशस्तै सुनिन्छ ।

साच्चै भन्ने हो भने पढाई त बहाना मात्र हो जस्तो पनि लाग्छ । र एक कर्मकाण्ड जस्तो । कक्षाहरु चढ्दै गयो । तहहरु पर गर्दै गयो तर, के पढिरहेको छु भन्ने परीक्षण गर्ने ठाउँधरि पाइँदैन । किन पढिरहेको छु भनेर आफैंले आफैंलाई सोध्नेपनि गरिँदैन । किनकी हाम्रो पढाइमा प्रश्नहरु प्राय बर्जित छन् ।

पछिल्लो समयमा त अझ नीजि शिक्षालयको पढाइमा त अझ बढी रटन्ताम र घोकन्ताम मात्र हावी भएको देखिन्छ । निजी विद्यालयले विदेश जान र सरकारी विद्यालयले जीवनयापन गर्न सिकाउँछ । भन्नेहरु पनि छन् । तर सरकारी शिक्षालयको हविगत पनि भनेजस्तो जिविकोपार्जन गर्न सिकाउने खालको कहाँ छ र ? जे होस् समयले पनि उमेरले पनि र केही हदसम्म पढाइले पनि ‘केही त गर्नैपर्छ’ भन्ने भावना त विकास गराउँदो रहेछ । तर म यहि गर्छु भन्ने आँट वा हिम्मत भने दिन नसक्ने रहेछ । यसका लागि हाम्रा शिक्षालयहरु, अभिभावकहरु, समाज र सोचाइपनि अहिलेको अवस्थाभन्दा फेरिन जरुरी छ । यी परिपक्व हुन जरुरी छ । अहिल्यै त होइन, शायद केही दशकपछि भने हाम्रो समाजमा केही गर्छु भन्दा किन गर्नुपर्यो ? भन्ने प्रश्न होइन कि, किन केही नगरेको भनेर प्रश्नहरु सोधिनेछन् । कामना गरौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *