भाइरससँगै भिडको जोखिममा स्वास्थ्यकर्मी : भेरीमा सांघातिक हमला

‘ज्यान जोगाउन कसैले झ्यालबाट हामफाले, कोही शौचालयमा लुके’

काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालका चिकित्सक र नर्सहरूमाथि हातपात भएको छ । कोभिड-१९ संक्रमितको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको भन्दै आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् ।

अस्पतालमा उपचाररत दाङका ५३ वर्षीय पुरुषको मृत्यु भएपछि बिरामी कुरुवा आफन्तले उपचारमा खटिएका चिकित्सक र नर्सहरूलाई आक्रमण गरेको अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले जानकारी दिए । उनका अनुसार संक्रमितको मृत्युपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेका छन् ।

घटनामा चार नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको सूचना अधिकारी डा. रिसालले बताए । ‘चिकित्सक र नर्सहरूलाई लखेटन थालियो, झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान जोगाउनुपर्‍यो,’ उनले भने, ‘केहि नर्सहरुले ज्यान बचाउन शौचालयमा लुकेर बस्नुपर्ने घटना भयो ।’

संक्रमितको दोस्रो तल्लाको ब्लक ए को आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर थप छानविन भइरहेको छ । घटनापछिकोभिड विशेष अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *