सिकाउन गएको म स्वयम् सिकिरहेछु

मोइन उद्दिन, धो ताराप, माथिल्लो डोल्पो । म ४ हजार ८० मिटरको उचाईमा रहेको धो तारापको क्रिस्टल माउन्टेन स्कुलमा पढाउन भनेर आएको हुँ । २ महिना हुनै लाग्यो म यहाँ पुगेको । काठमाडौंको भिडभाडमा जन्मी हुर्किएको म यहाँको शान्त र प्रकृतिको अनुपम उपहार भएको ठाउँमा पुग्दा हर्षविभोर छु । अझ आफूलाई मन पर्ने काम अर्थात् शिक्षण गर्न पाउँदा झनै फुरुङ्ग भएको छु । बालबालिकासँगै बस्नु‚ उनीहरुलाई केही सिकाउनु र उनीहरुबाट सिक्नु मेरो जीवनकै लागि अहोभाग्य हो ।

नयाँ संसार नै जस्तो भएको छ यो मेरा लागि किनभने धेरै कुरा नौला छन् यहाँका मलाई । काठमाडौंमै जन्मेको र पढेको भएपनि यसअघि म सिन्धुपाल्चोकमा २ वर्ष बसेको थिएँ । त्यहाँभन्दा पनि यहाँको परिवेश निकै नौलो छ । भूगोल, परिवेश, समाज, धर्म सबै नौलो छ मेरा लागि । यहाँका मानिस तिब्बतबाट आएका धेरै छन् । उनीहरुको नाम पनि उस्तै उस्तै छ । केटा केटी दुवैको एकैखाले नाम छ । जस्तो अगाडिको नाम केटा वा केटीको पनि उस्तै हुन सक्ने रहेछ‚ जस्तो: फुर्वा नाम केटा वा केटी दुवैको समान छ तर पछाडिको नाम भने फरक जस्तो केटाको फुर्वा तेन्जिङ छ भने केटीको फुर्वा स्याङ्मो ।

यहाँको बत्ति, खाना बनाउने साधन, सामान ओसार्ने साधन सबै नौलो छ । यहाँ सौर्य ऊर्जाबाट बत्ति बालिएको छ । जीवनमै पहिलोपटक मैले गोबरबाट खाना बनाएको देखें । यहाँका होटलहरुले याक घोडा भेडा बाख्राको गोबर र बड्क्युँला किन्ने रहेछन् खाना बनाउनका लागि । यहाँ मुख्यतया खाने सामान भनेको उवा अर्थात् पिठो र आलु हो । तरकारी खानुपर्‍यो भने हरित गृहमा उत्पादन गर्नुपर्छ । याकले खेत जोतेको पनि पहिलोपटक देखें । औधी रमाइलो लाग्यो ।

मौसम अति नै चिसो छ यहाँको । अहिल्यै नै यति चिसो छ‚ हिउँदमा कति चिसो होला ! म अनुमानै गर्न सक्दिनँ । अहिले पनि म यहाँ स्वेटर-ज्याकेट लगाएर बसिरहेको छु । काठमाडौंमा हुँदा हिमालमा मानिसहरू कसरी बस्दा हुन् भन्ने सोच्थेँ‚ अहिले आफैं भोगिरिहेको छु । सोच्छु‚ अझ यहाँभन्दा अझै चिसा ठाउँहरुमा झन् कस्तो होला ? हावा चलिरहने र असाध्यै चिसो हुनाले ग्रीन हाउसमा बस्ने गरेको छु । त्यहाँ तातो हुन्छ । हामीले नुहाउने‚ लुगा धुने काम पनि ग्रीन हाउसमै गरेका छौं ।

मेरा विद्यार्थीहरू पढ्न एकदमै रमाउँछन् । उनीहरु दङ्ग परेर पढेको देख्दा मैले जानेको केही कुराहरू सिकाउन सक्छु भनेर गर्व लाग्छ । उनीहरूको जीवनमा कुनै न कुनै कुरा सिकाउन सकें भने त्यो मेरो लागि जीवनको उद्देश्यमध्येकै एक हो ।

उनीहरुको अनुहारको उज्यालो देखेर घरबाट यति टाढा आएको मलाई घरको‚ परिवारको‚ साथीभाइको खासै नियास्रो पनि लागेको छैन । उनीहरुका बाआमा र परिवारका अरु सदस्य पनि आफ्ना बालबालिकाको भविष्यप्रति आशावादी देखिन्छन् । देशको राजनीति वा केन्द्रको सत्ताको उछलकुदबारे यहाँ खासै कसैलाई मतलब छैन । यो बेग्लै संसार हो । यहाँ बस सोझो गरी आफ्नो काम गर्ने, जिविकोपार्जन गर्ने कुरामै मानिसहरु व्यस्त छन् ।

बल्ल त दुई महिना हुँदैछ । म काठमाडौंको कोलाहल छाडेर आइपुगेको । केही सिकाउन भनेर आएको मैले खासै धेरै कुरा सिकाउन त पाएको छैन‚ बरु आफैं चाहिँ सिकिरहेको छु ।

बसुन्जेलमा अझै धेरै कुरा सिक्न बाँकी छ । सिक्ने/सिकाउने यो क्रम चलिरहनेछ । जानेका केही कुरा सिकाउनेछु । नजानेका धेरै कुरा सिक्नेछु ।

प्रतिक्रिया

5 thoughts on “सिकाउन गएको म स्वयम् सिकिरहेछु

  1. This is so beautiful. I am a teacher too and wish to experience the same thing in coming days 😊☘️

  2. Teaching and learning should never be stopped.This is so beautiful. I am a teacher too and wish to experience the same thing in coming days 😊☘️

  3. रमाइलो लाग्यो हो जीन्दगीमा सिक्नु र सिकाउनु दुबै हुन्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *