बुबा गुमाएपछि आदर्शलाई सहानुभूति !

काठमाडौं । हाँस्य कलाकार आदर्श मिश्राले बुबा विनोद मिश्रालाई गुमाएका छन् । चार वर्षयता दुवै मिर्गौला फेल भएर उपचार गराइरहेका आफ्ना बुबाको अस्पताल र स्वास्थ्यकर्मीको लापरवाहीका कारण ज्यान गएको आदर्शले आरोप लगाएका छन् । बुबालाई व्यथाले च्याप्दै लगेपछि र उपचारमा समस्या हुन थालेदेखि उनले सहयोगको आग्रह गर्दै भिडिओ बनाए । जसमा उनले आफ्नो पीडासँगै अस्पतालको लापरवाहीको विषय उठाउँदै आएका थिए ।

तर खास पहल कतैबाट पनि भएन । उनका बुबाको निधनको खबरसँगै उनलाई सहानुभूति दिनेहरू धेरै देखिएका छन् ।

आदर्श प्रतिस्पर्धी रहेको रियालिटी शो कमेडी च्याम्पियनको आधिकारिक पेजमार्फत पनि श्रद्धाञ्जलीको पोस्ट सेयर गरिएको छ । उक्त पोस्टलाई टिमका सदस्यहरुले सेयर गरेका छन् । केकी अधिकारीले थप शब्द खर्च नगरी च्याम्पियनको पोस्ट आफ्नो वालमा सेयर गरेकी छन् । विशाल भण्डारीले पेजकै व्यहोरा राखेर पोस्ट सेयर गरे ।

कमेडी च्याम्पियनका ‘जज’ मनोज गजुरेलले भने पेजमा भन्दा पहिला नै आफ्नो वालमा श्रद्धाञ्जली पोस्ट गरेका थिए । उनको पोस्टपछि नै धेरैलाई विनोदको निधनबारे थाहा भएको थियो । जसलाई ‘जज’ ऋचा शर्माले पनि सेयर गरेकी छन् ।

प्रदीप भट्टराई अर्का जजले लेखेका छन्, ‘प्यारो भाइ आदर्श मिश्रको बाबाले आज आफ्नो भौतिक शरीर छोडेर जानुभयो । हार्दिक श्रद्धाञ्जली अङ्कल स्वर्गमा बास होस् । यो दुःखद् घडीमा परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु, ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् ।’

‘जज’ सन्तोष पन्तले पनि विनोदको निधनमा दुःख व्यक्त गरेका छन् । उनले आदर्शलाई प्रतिभाशाली कमेडियन भनेका छन् । कार्यक्रम सञ्चालक रीमा विश्वकर्माले विनोदको निधन अगावै आदर्शको इन्स्टाग्रामको पोस्ट आफ्नो पेजमार्फत सेयर गरेकी थिइन् ।

समग्रमा कमेडी च्याम्पियनको सम्पूर्ण समूहबाट नै श्रध्दाञ्जली आयो तर रीमाको एउटा पोस्ट बाहेक आदर्शले लामै समय बिताएको उक्त ‘शो’ले उनलाई सहयोगको प्रयास गरेको पाइएन । आदर्शले हरेक दिनजसो सामाजिक संजालहरूमा आफ्नो बाबुको अवस्थाबारे पोस्ट गरिरहे । सहयोगका लागि अपेक्षा गरिरहे । तर यसले खास काम गरेन । यसको कुनै अर्थ भएन ।

उनले सहानुभूति पाउन आफ्ना बुबाको मृत्यु नै हुनुपर्‍यो । उनले बुबालाई थप उपचारका लागि काठमाडौं लैजान खोजेको कुरा पनि नआएको होइन तर यतातर्फ पनि कसैले पहल गरेको पाइएन । बुबाको निधनपछिको भिडिओमा पनि आदर्शले, बुबालाई उपचारका लागि काठमाडौं नलैजानु गलत भएको महसुस गरेको बताएका छन् ।

कमेडी च्याम्पियनको भाग २ का प्रतिस्पर्धी प्रभात लामाले विनोदको निधनमा राज्य दोषी रहेको तथा विभेद र पीडाका कारण आदर्श विद्रोही बनेको बताएका छन् । उनी लेख्छन्, ‘हार्दिक श्रद्धाञ्जली अंकल । आदर्श मिश्रको बुबाको निधन भएको खबरले दुखी तुल्याएको छ। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना । बुबाको उपचारका लागि विद्रोही भए आदर्श । रमिते बन्यो राज्य । उनले बुबाको उपचार गरिपाऊँ भन्ने अनुरोध र आक्रोशलाई यति रौँ जती पनि महत्व दिएन । यो एउटा नागरिकमाथि राज्यले गरेको लापरवाही होइन ? यसको जिम्मेवार को हुन्छ ?’

आदर्शसँगै च्याम्पियनका प्रतिस्पर्धी सजन श्रेष्ठले भिडिओ बनाएर समवेदना दिएका छन् । तर उनको भिडिओमा ‘उसको बुबा खुसी हुनुहुन्थ्यो किनकी छोरोले काठमाडौंका साथी बनायो‚’ भनेका छन् । जसले उनको भिडिओ श्रद्धान्जलीको लागि कि आफ्नै प्रमोसनका लागि ? भन्ने प्रश्न जन्माएको छ ।

कलाकार तथा निर्देशक निश्चल बस्नेतले भने आफूहरुले समयमै ठाउँसम्म आवाज पुर्‍याउन नसकेकोमा दुःख मानेका छन् । सिस्टमको शिकार भएर आदर्शको बुबाको ज्यान गएको र सिस्टमको शिकार आफैँ पनि हुने सम्भावना रहेकोतर्फ सचेत गराएका छन् । उनको घरमा समेत मिर्गौलाका बिरामी भएकाले यसको पीडा र अप्ठ्याराहरू निश्चललाई अवश्य थाहा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =