सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता

काठमाडौं । सिटिजन्स बैंकले विराटनगरमा प्रधान कार्यालय रहेको ग वर्गको सिर्जना फाइनान्सलाई प्राप्ति गर्नेगरी अन्तिम सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट संचालक तथा मर्जर/प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र फाइनान्सका तर्फबाट संचालक तथा मर्ज/प्राप्ति समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुने जनाएको छ ।

अब आ-आफ्नो विशेषरसाधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात एकीकृत कारोबार हुने बैंकले जनाएको छ । यसै आर्थिक वर्षभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिएको  जनाएको छ ।

यसअघि दुवै पक्षले माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । २०७८ साल जेठ ९ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ ।

प्राप्तिपश्चात् बैंकको कुल शाखा १८९ हुने बैंकले जनाएको छ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा २७ वटा शाखा हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *