नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

कठमाडौं । सरकारले आइतबार जारी गरेको नागरिकता (पहिलो संशोधन)सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पुगेकाे छ ।
वरिष्ठ अधिवक्ताहरू बोर्णबहादुर कार्की र बालकृष्ण न्यौपाने तथा विजयप्रकाश मिश्र र डम्बरविक्रम कार्कीले संयुक्त रुपमा सोमबार रिट दायर गरेका हुन् । उनीहरुले यो अध्यादेशले नेपालमा नेपाली नै अल्पमतमा पर्ने खतरा रहेको, मुलुकको सार्वभौमसत्ता नै खतरामा पर्ने, संसद नभएको अवस्थामा अति नै आवश्यक परेबाहेक अध्यादेश ल्याउन नमिल्ने संवैधानिक व्यवस्था रहेको, नागरिकता विधेयक २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेको लगायत अवस्था उल्लेख गर्दै यो अध्यादेश ल्याइनु यी सबै हिसाबले गैरकानुनी र असंवैधानिक भएको जिकीर गर्दै यसको कार्यान्वयन नगराउन परमादेश माग गरिएको छ ।
यस्तै रिटमा यो अध्यादेश दूरासयपूर्ण र अनुचित राजनीतिक लाभ पूरा गर्नका लागि ल्याइएको जिकीर गर्दै तत्काल कार्यान्वयमा आउन नदिन अन्तरिम आदेशसमेत माग गरिएको छ ।












