तेन्जी १८ औँ पटक सगरमाथामा

सोलुखुम्बु । जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सुमी ट्रेक मार्फत् सगरमाथा आरोहणमा गएका क्लाइम्बिङ गाइड उनी सात आरोहीको नेतृत्व गर्दै शिखरमा पुगेको कम्पनीले जनाएको छ ।

सोही कम्पनीमार्फत् सगरमाथा आरोहणमा गएका लाक्पा दावा शेर्पाका अनुसार उक्त टोली आज बिहान ४:३० बजे शिखरमा पुग्न सफल भएको हो । अमेरिकी नागरिक डोन र एरिक तथा बेलायती नागरिक ज्याकसहित उनीहरूका ४ जना सहयोगी शेर्पा क्लाइम्बिङ गाइड सगरमाथाको चुचुरोमा पुगेर फर्केको आधार शिविरबाट क्लाइम्बिङ गाइड लाक्पा दावाले जानकारी दिए । उनीहरू अब तीन दिनमा आधारशिविर आइपुगेर काठमाडौं फर्कने बताइएको छ ।

आइतबार अनुकूल मौसम हुँदा करिब १५० आरोही शिखरमा पुगेका थिए भने सोमबार साउथ समिटमा अत्यधिक हावाका कारण केही आरोहीमात्रै शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आइतबार आरोहण गर्न नसकेका केही समूहका आरोहीमात्र शिखर पुगेको भएपनि यकीन विवरण भन्न नसकिने उनको भनाइ छ । जोखिम न्यूनीकरणका लागि एक अर्काबीच भेटघाट नहुँदा विवरण लिन नसकिएको हो ।

यस्तै सयौँ आरोही अनुकुल मौसमको पर्खाइमा क्याम्प २ मा रहेको बताइएको छ । तर केही दिन आरोहणका लागि मौसम अनुकूल नदेखिएको सम्पर्क अधिकृत श्रेष्ठले बताए । अब मे २८ र २९ मा आरोहण अनुकूल मौसम हुनसक्ने भएकाले सोही समयको पर्खाइमा आरोही रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *