महामारीमा नारी, निभाउँदै जिम्मेवारी

फिदिम, पाँचथर । सुनसान छन् सहर बजार, टोल, गल्लीहरु पनि । यिनै सुनसान गल्ली र चोक बजारमा देखिन्छन् सेतो पोशाकमा हतार हतार हिँडिरहेका स्वास्थ्यकर्मी अस्पताल पुगेर मात्र होइन, फोनमा पनि कसैको ज्यान जोगाउने भरमग्दुर प्रयास गरिरहेका । अनि चोकचोकमा भेटिन्छन् निलो पोशाक लगाएर टन्टलापुर घाममा तैनाथ सुरक्षाकर्मी । जो सोध्दैछन्–‘तपाईंको मास्क खोई ?’

अनि कतै छन्, थरिथरिका पोशाक लगाएर नागरिकलाई सुसूचित गराउन खबरको खोजीमा दौडिरहेका सञ्चारकर्मी । अरु मानिस घरमै बसेर परिवारसँग सामीप्यता बनाइरहेका, मिठो मसिनो खाइरहेका बेला बसौं बसौं त उनीहरुलाई पनि किन नलाग्दो हो र ? तर पेशाले दिएको दायित्व र कर्तव्यको कुरो जो छ । जुन रहर वा चाहनाभन्दा कता हो कता माथि हुँदो हो ।

पाँचथर जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई राख्ने क्वारेन्टिनको बेडको तस्बिर सार्वजनिक भएपछि धेरैले आलोचना गरे । कोभिड बिरामी, बिरामीको उपचार तथा मृतकको शव व्यवस्थापनमा कटिएका स्वास्थ्यकर्मी बस्ने ठाउँ न्यूनतम पनि व्यवस्थित थिएन, यस्ता अनेकन असहजताका बिचमा रहेर पनि यो महामारीको बेला अग्रपङ्तिमा खटिएर कर्मचारी काम गरिरहेका छन् । कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीको कुरा सुन्दा माया लाग्छ । ‘कोभिड वार्ड बन्नुभन्दा १० दिनअघि नै व्यवस्थापन समितिमा आराम गर्ने र पकाएर खाने ठाउँ बनाइदिन आग्रह गरेपनि वास्तै नगरिएको गुनासो गर्छन् ।

कोभिड—१९ का नयाँ नयाँ स्वरुपले नागरिकलाई आतङ्कित बनाइरहेका बेला सरकारले अत्यावश्यक कामबाहेक अन्य काममा बाहिर ननिस्किनु भनिरहेको छ । तर, अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र केही सेवाका कर्मचारी सकसमा छन् ।
महामारीले लिङ्ग भन्दैन, न त जात धर्म वा समुदाय नै । तर लैङ्गिक रुपमा महिलाहरु बढी मारमा परेका छन् । धेरैजसो महिला घरमा छोराछोरीसँगको सम्पर्कमा हुन्छन् । उनीहरुले नियमित र अझ थप गरिएको ड्यूटी सकेर घरमा पुगेर पकाइतुल्याई खुवाउनुपर्ने अर्को दायित्व पनि हुन्छ । जति नै समानताका कुरा गरेपनि अझै बहुसंख्यक पुरुषहरु ‘बरु भोकै बस्ने तर बनाएर नखाने’ प्रवृत्तिकै छन् र हुन्छन् पनि ।

पछिल्लो पुस्तामा यो प्रवृत्ति अलि कम हुँदै गएको भने छ । यस्तो बेलामा आफू संक्रमित हुने जोखिम त छ नै घरमा भएका बालबच्चा र अरु परिवारका सदस्यलाई पनि जोखिममा पार्ने सम्भावना उत्तिकै छ ।

यस्तो समयमा यसरी काम गरिरहँदा केही मानिसको हामीलाई हेर्ने दृष्टिकोण नराम्रो देख्दा चाहिँ साँच्चै नमज्जा लाग्छ ।

जिल्ला अस्पताल पाँचथरकी नर्सिङ्ग निरीक्षक लक्ष्मी जोशी आफूलाई परिवारको राम्रो सहयोग रहेका कारण काम गर्न असहज नभएपनि अरु सहकर्मीहरुले धेरै समस्याका कुराहरु सुनाउने गरेको बताउँछिन् ।

कोभिड वार्डमा कार्यरत रहँदा कतिपयलाई त छर-छिमेकलेसमेत हेला गर्ने गरेको अनुभवसमेत उनीहरुसँग छ । उनी भन्छिन्— ‘यस्तो बेलामा परिवारको साथ सहयोग भएन भने त कामै गर्न सकिँदैन नि ।’ हुनपनि एकातिर कामकै तनाव र जोखिम भएका बेला घरपरिवारले ढाडस दिएन भने शारीरिक र मानसिक रुपमा तनाव बढ्ने नै भयो ।

कोभिड वार्डमा ड्यूटी गरिरहेकी जोशी भन्छिन्— ‘यस्तो समयमा यसरी काम गरिरहँदा केही मानिसको हामीलाई हेर्ने दृष्टिकोण नराम्रो देख्दा चाहिँ साँच्चै नमज्जा लाग्छ । हामी पनि घर परिवार बालबच्चा नभनि बिरामीको सेवामा हुन्छौं, धेरै समय परिवारबाट टाढा बस्दा हामी कति मनोवैज्ञानिक पीडामा हुन्छौँ, त्यो कसलाई थाहा हुन्छ र ? सेवा गर्दाको खुसी त छ नै तर स्वास्थ्यकर्मी कोरोना बोकर हिँडिरहेका छन् जस्तो गरिँदा चाहिँ नराम्रो लाग्छ । कहिलेकाहीँ त बेकारमा यो पेशामा आइएछजस्तो पनि नलाग्ने होइन ।’

कोभिड भएका बेला ‘क्रिटिकल केयर’ महत्वपूर्ण हुन्छ । जुन अस्पतालमा मात्र सम्भव छ । कोभिड संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी जो स्वयम् जोखिम मोलेर काम गरिरहेका छन् । उनीहरुलाई सबैले हौसला दिन आवश्यक छ । तर घरी उनीहरुले प्रोत्साहन भत्ता नपाएका खबर आउँछन् त घरि पीपीईलगायत स्वास्थ्य सुरक्षा सामग्री नै पर्याप्त नभएका ।

१६ वर्षदेखि नर्सिङ पेशालाई कर्म बनाएकी करुणा आङ्बो अहिले कोभिड वार्डमा ड्यूटी सकेर भर्खरै क्वारेन्टिनमा बसेकी छिन् । ‘छोरीहरुसँगै घरमै बस्न पाए हुन्थ्यो भन्ने त लाग्छ नि,’ उनी भन्छिन्— ‘तर बालबच्चाको आँसुले भन्दा बिरामीको मुस्कानमा बढी खुसी हुने बानी नै लागेको छ ।’ कोभिड वार्डमा लगातार सात दिन ड्यूटी गरेपछि फेरि सात दिन क्वारेन्टीनमा बस्नुपर्छ अनि पीसीआर गरेर रेपोर्ट नेगेटिभ आएपछि मात्र घर जान मिल्छ ।

अस्पताल व्यवस्थापन समितिले क्वारेन्टिनमा बस्ने स्वास्थ्यकर्मीका लागि बस्ने व्यवस्था राम्रो नगरेपछि हौसला घटेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

चार वर्षदेखि नर्सको काम थालेकी २४ वर्षीय ज्योती दाहाल कोभिडपछि साथी अनि आफन्तकै पनि हेर्ने दृष्टिकोण अलिकति फरक भएको अनुभव गरेकी छन् । ‘हामी हिँड्दा पनि कोरोनै बोकेर ल्याएकोजस्तो गर्दा मन दुख्छ ।’ आफूहरु स्वयम् जोखिममा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई यस्तो व्यवहारले दुखी बनाउने उनको अनुभव छ । ‘रातदिन नभनि घर परिवार छोडेर अनि जोखिमै जोखिमका बिच काम गर्ने स्वास्थ्यकर्मीलाई घृणा होइन माया पो चाहिएको छ त,’ उनी थप्छिन् ।

१७ वर्षअघि प्रहरी बनेकी हवल्दार शोभा बस्नेतसँग पनि एकातिर पेशाप्रतिको गर्व त अर्कातिर यो जोखिमको बेलाको दुःख सँगसँगै छ । पहिलो पटक पाँचथरमा प्रहरीलाई कोरोना देखिँदा कतिपयले ‘ऊ प्रहरी आए कोरोना ल्याए’ भनेझैँ व्यवहार गर्ने गरेको गुनासो छ उनको । बजारमा ड्यूटी हुँदा आफूहरु सधैं गएर बस्ने बस्ने बेन्चसमेत लुकाइदिएको उनले सुनाइन् । तर अहिले पनि त्यस्तो व्यवहार कसैले पनि नगरेको उनले बताइन् । अहिले शोभाजस्तै प्रहरीहरु आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न सम्झाइरहेका छन् ।

अझ विशेष शारीरिक तथा प्राकृतिक अवस्था तथा जिम्मेवारीका कारण नारीहरु अझ बढी माया चाहिएको छ ।

४ वर्षअघि प्रहरी बनेकी जवान इवान राई पनि अघिल्लो पटक निकै गाह्रो भएको बताउँछिन । त्यो बेला त म प्रहरी भन्न पनि मन नलागेको उनले अनुभव सुनाइन् । ‘संगठनभित्र त त्यस्तो केही भएन तर बाहिर चाहिँ निकै गाह्रो भएको थियो । घरधनीले केही नभने पनि सबै हामीसँग डराएको देख्दा हामी आफैं तर्किन्थ्यौँ । यसपटक त्यस्तो भएको छैन । नराम्रो समय बितिजानेछ विश्वास लिएका छौँ,’ उनी भन्छिन् । महाब्याधिको यो समयमा सबै नागरिकलाई दुःख छ । जोखिम छ । समस्या छ । अझ अग्रपङ्तिमा काम गर्ने पेशाका व्यक्तिलाई झन् कठिन छ । महामारी नियन्त्रण गर्न र भइहाले उपचार गर्न स्वास्थ्यकर्मी नभई हुँदैन । यस्तो बेलामा सुरक्षाकर्मीको महत्व अझ बढी हुने नै भयो । सही सूचना दिने वा मन बहलाइदिने सञ्चारकर्मी र सञ्चार संस्थाहरु सबै सबैको महत्व छ ।

यी पेशाका सबैलाई माया सहयोग र सद्भावको खाँचो छ । अझ विशेष शारीरिक तथा प्राकृतिक अवस्था तथा जिम्मेवारीका कारण नारीहरु अझ बढी माया चाहिएको छ । यस्तो बेलामा उनीहरुलाई छिछि—दुरदुर होइन, ढाडस र हौसला चाहिन्छ । किन पनि भने उनीहरु हरपल हामीलाई चाहिने पेशाका मानिस हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.