योगेश भन्छन्– ‘एमाले एकता जोगाउन सकिन्छ भनेर यो निर्णय लिएको हुँ’

काठमाडौं । विपक्षी एमाले नेता योगेशकुमार भट्टराईले शुक्रवार (आज) आफ्नो राजनीतिक जीवनकै कठिन दिन रहेको बताएका छन् । आफ्नो आधिकारिक फेसबूकमा एक स्थिति राख्दै नेता भट्टराईले यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सन्दर्भमा असहयोग गरेका नेता भट्टराईले एमालेलाई एकताबद्ध गर्न आफूले यस्तो कदम चाल्न बाध्य बभएको प्रष्टोक्ति दिएका छन् । नेता भट्टराईले भनेका छन्— ‘नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’

सभापति देउवाले विपक्षी एमालेका २७ सांसदको समर्थनसँगै १४९ जनाको हस्ताक्षरसहित शीतल निवास पुगेर दाबी पेश गरेलगत्तै नेता भट्टराईसँगै, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, जयकुमार राईलगायतका नेताले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताएका थिए भने राईले त पत्र नै पठाएका थिए ।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि १५३ सांसदको समर्थनसहित प्रधानमन्त्री पदको दाबी गरेका छन् । योसँगै अबको प्रधानमन्त्री को हुने भन्नेबारे रस्साकस्सी हुने देखिएको छ । शीतल निवासले भने दुई नेताको दाबी परेको हुँदा केही समय लाग्ने जवाफ दिएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले भनेका छन्— ‘दुई नेताको दाबी परेको छ । यसो हुँदा यसको आधार जाँच गर्नुपर्ने हुन्छ । त्यो भएर केही समय लाग्ने हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *