अक्सिजन प्लान्ट र एचडियूका लागि अर्थ मन्त्रालयले छुट्यायो थप १७ करोड ८७ लाख

काठमाडौं । १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको छ ।
जसमा भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयले डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ छुट्याइएको जनाएको छ ।
यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो ।









