प्रदेश १ : कोरोना संक्रमितको समस्या घरदेखि घाटसम्म, समाधानमा सबै दलको यस्तो तयारी

विराटनगर । कोरोना संक्रमणमा परेका नागरिकले घरदेखि घाटसम्मको समस्या व्यहोर्दै आएपछि मोरङका दलहरूले नागरिकका समस्यामा साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेका छन् । कोभिडको महामारीले सबै क्षेत्र अस्तव्यस्त पारेकाले नागरिकका साझा समस्या समाधानमा मोरङका दलहरुले साझा धारणा बनाएका हुन् ।
संवाद समूह मोरङले भर्चुअल संवादमार्फत् दलहरुको भूमिकाको बारेमा गरेको संवादको क्रममा मोरङमा क्रियाशील दलहरूले सरकारले जारी गरेका निषेधाज्ञालाई पालना गराउँदै त्यसको कार्यान्वायन र सचेतनामा अफूहरूले संयन्त्र मार्फत् भूमिका खेल्ने बताए । उनीहरुले निजी तथा सरकारी अस्पतालहरूले सरकारले तोकेको मापदण्ड कार्यान्वयन गरे/नगरेको बारेमा जानकारी लिने र त्यो कार्यान्वयनमा सम्बन्धित निकायलाई सचेत गराउनेसमेत बताएका छन् ।

औषधि अभाव हुन नदिनका लागि औषधि व्यवस्थाको जिम्मेवारी लिएका जिम्मेवार निकायलाई सचेत गराउने बारेमा समेत साझा प्रतिबद्धता जनाएका हुन् । दाहसंस्कारमा देखिएको समस्या समाधानमा सम्बद्ध पक्षसँग छलफल गरी एम्बुलेन्स र शव व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई सचेत गराउने प्रतिबद्धता जनाएका छौँ,’ नेपाली कांगेस मोरङका सचिव नागेश कोईरालाले भने, ‘सरकारका तीन तह र सम्बद्ध पक्ष सबैलाई समस्या समाधानमा जिम्मेवार भएर लाग्न अनुरोध गरिएको छ ।’

उनीहरूले तत्काल खोपको व्यस्थापन गर्नसमेत राज्यसँग माग गरेका छन् । मानवीय संकटको अवस्थामा गलत कार्यमा संलग्न भएमा जो कोहीलाई तत्काल कडा कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरिने कोइरालाले बताए ।

उनले पार्टीको तर्फबाट राहत दिने, खाना खुवाउने, अक्सिजन सिलिन्डर नपुगेका ठाउँमा पुर्‍याउने, स्थानीय सरकार, प्रमुख जिल्ला अधिकारी र प्रदेशलाई पनि झकझक्याउने काम भएको बताए । गर्दागर्दै पनि जनतामा राहत पुगेको नदेखिएको कोइरालाको भनाइ छ । सिसिएमसीलगायतका संरचनाले दलहरुलाई बेवास्ता गर्ने गरेको उनले गुनासो गरे ।

नेकपा एमालेका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले दलहरुका बिचमा समन्वय गरेर नागरिकलाई दिने सेवामा एकैखालको धारणा आवश्यक भएकाले दलहरु एकठाउँमा उभिएको बताए । अत्यन्त गम्भीर मानवीय संकटको बेलामा दलहरूका बिचमा समन्वयको काम यसअघिदेखि नै हुँदै आएकोमा त्यसको निरन्तरतामा दलहरू चुक्ने वा भाग्न नहुने पोखरेलले स्पष्ट पारे । ‘हामी १७ पालिकामा युनिट तयार गरेर काम गरिरहेका छौँ,’ उनले भने, ‘सूचना, सम्पर्क, सहयोग जुटाउने काममा लागिएको अवस्था छ ।’

जनता समाजवादी पार्टीका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले नागरिकले अपनाउनुपर्ने सावधानीको बारेमा छलफल गरेर आफ्नो संगठनमार्फत् सचेत गराउने काम पार्टीले गरेको बताए । ‘हामीले लकडाउनको पालनालाई कार्यान्वायन र सचेतना जगाउने काम गरेका छौँ,’ यादवले भने, ‘राज्यले नागरिकका समस्याको रुपमा देखिएको अस्पतालहरुको अनुगमन गर्नु जरुरी छ ।’

एमालेका अर्का नेता महेश रेग्मीले नागरिकलाई सेवा दिनेगरीको अभियान चलाउनुको विकल्प छैन तर संक्रमणको त्रास भएको बताए । ‘आफू पनि बँच्दै, सावधानी अपनाउँदै अघि बढ्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सहयोग गर्दै सेवाको भावनाले जाँदा संक्रमण हुन दिनु पनि भएन र संक्रमित हुनुपनि भएन भन्ने मुख्य कुरा हो ।’

वास्तै गर्दैन सरकार
प्रदेश सभा सदस्य जयराम यादवले कोरोना नियन्त्रण र नागरिकको समस्यामा प्रदेश सरकारले एक पटक पनि बैठक नबोलाएको उनले बताए । गत वर्ष धेरै पटक छलफलहरू हुने गरेको भएपनि यो वर्ष त्यस्ता कुनै छलफल प्रदेश सरकारले नगरेको उनको गुनासो छ । ‘सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा दलहरुबाट नै भएको अवस्था छ,’ प्रदेशसभा सदस्य यादवले भने, ‘दलका जिम्मेवार व्यक्तिले कानुनको पालना गर्दै जनताको सेवामा जाने हो, कानुन उल्लंघन गर्ने होइन।’ जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीमार्फत् छलफल र बैठकहरू भएको सुनिएपनि प्रदेशमा त्यस्ता छलफल र बैठकमा मन्त्री र मुख्यमन्त्रीले दलको नेताको हैसियतमा पनि वास्ता गरेको छैन ।

राप्रपाका केन्द्रीय सदस्य तथा तराई-मधेश ब्युरो प्रमुख दिनेश साहले अहिलेको अवस्थामा घरमै बसेर सुरक्षित भइने बताए । सबै दलहरुले आफ्ना नेता कार्यकर्तासम्म त्यहीअनुसार बुझाउन सक्ने हो भने समस्याको निरुपण हुने उनले बताए ।

संक्रमितका समस्यै समस्या
कोरोनाको महामारी बढ्दै जाँदा प्रदेशका धेरै जिल्लामा संक्रमण भएका व्यक्तिको समस्या घरदेखि घाटसम्म नै देखिएको छ । संक्रमित भएका व्यक्तिलाई अस्पताल पुर्‍याउन एम्बुलेन्सको समस्या, एम्बुलेन्स पाइहाले बढी मूल्य लिने समस्या, अस्पतालसम्म पुग्दा अस्पतालले लिने/नलिने भन्ने नै मुख्य समस्या रहेको छ ।

त्यस्तै अस्पतालले उपचारका लागि भर्ना लिनुपूर्व नै अस्पताललाई तिर्नुपर्ने ठुलो रकमको धरौटीको समस्या, धरौटी राखेर उपचार गर्न शुरु गरेपछि उपचारमा औषधिको अभाव देखाएर हुने असुलीको समस्या पनि रहेको छ । औषधि पाएर उपचार गर्दा गर्दै अवस्था गम्भीर हुँदै गए भेन्टिलेटरको समस्या पनि संक्रमितको प्रमुख समस्याको रुपमा रहेको छ ।

यदि संक्रमितको उपचारको क्रममा मृत्यु भएमा शव उठाउन नै समस्या हुने गरेको छ । शव उठाउने बेलामा अस्पतालले लिने थप शुल्कले पनि संक्रमितलाई थप पीडा दिने गरेको छ । मृत्युको पीडा खेपेका परिवारका लागि घाटसमेत नपाउनले अवस्था सिर्जना भइसकेको छ । यदि घाट पाइहाले पनि चर्को मूल्य लिने गरेको गुनासोका आधारमा दलहरुले यस्ता समस्यामा हातेमालो गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *