एक कोभिड संक्रमितको आत्मस्वीकृति

धन्न ! मेरो लापरबाही मृत्यु बनेन

यो लेख एक कोभिड संक्रमितको आत्मस्वीकृति हो ।

म तयार छु मेरा लापरबाहीहरुलाई स्वीकार गर्न । म संक्रमित भएँ । त्यही समयमा तपाईंसँग बनेका र भत्केका सम्बन्धहरु छन्, जसले कतै मल्हम लगाए, कतै भतभती पोले ।

संक्रमित भएको सातौँ दिन पहिलोचोटी म रोएँ । अस्पतालको गेटमा थ्याच्चै बसेर रोएँ । बेड खाली नभए पनि भुइँमै सुताएर अक्सिजन दिन अनुनय गर्दै रोएँ ।

त्यो दिन, २५ वैशाख साँझ । मेरो ‘अक्सिन लेभल’ अचानक कम भयो । म आत्तिएँ । अनि अस्पतालतिर दगुरेँ । नेपाल-कोरिया मैत्री अस्पताल, भक्तपुर । नजिक त्यही थियो ।
तर, मैले बेसहारा अनुभव गरेँ ।

संकटले चौतर्फी कक्रक्क पारेका बेला बाँच्छु कि भन्ने आशामा दुई प्रकारका व्यक्तिलाई सम्झिइँदो रहेछ, दलका नेता र हाकिम । नेता चिनेकै थिएनन् । जागिरबाट पनि केही दिनअघि मात्र राजीनामा दिएको थिएँ । अनि त अस्पतालको गेटमा बसेर रुन मात्र सकेँ । ममात्र रोइनँ, सँगै गएकी श्रीमतीलाई पनि रुवाएँ ।

एकजना आफन्तले धुलिखेल अस्पतालमा बेड खाली भएको जानकारी दिए । राति १० बजिसकेको थियो । न ट्याक्सी, न एम्बुलेन्स । हामी स्कुटरमा लाग्यौँ, धुलिखेलतिर । म बाँच्न चाहन्थेँ र श्रीमती बचाउन । यस्तो लाग्यो, यो गोल-भूगोलमा हाम्रा लागि हामी दुईमात्र थियौँ ।

मूलसडकमा निस्किनेबित्तिकै टिप्परहरुको अनियन्त्रित गतिले अत्यायो । तैपनि अगाडि बढिरह्यौँ । जब सूर्यविनायक कटेर दुई लेन सडकबाट बढ्न थाल्यौँ, हामीले टिप्परसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था भयो । श्रीमतीले सडकको छेउतिर स्कुटर रोकिन् । ‘निषेधाज्ञा’ मा पनि ‘टिप्पर आतंक’ लाई निषेध नगरेकोमा मैले बिरामी अवस्थामा पहिलोपटक सरकारलाई गाली दिएँ । त्यो गाली त्यतै हावामा बिलायो ।

हामी १० मिनेट सडक किनारमै बस्यौँ । म जाडोले काँप्न थालेँ । आँसु झरिरह्यो । अनि धुलिखेल अस्पताल पुग्ने चाहना त्यागेर घर फर्कियौँ ।

तपाईंलाई लाग्ला, मृत्युसँग जुध्न हिँडेको मानिस पनि अस्पताल नगई फर्किन्छ ? ‘कोरोनाबाट त भोलिसम्म बाचौँला, टिप्परले अहिले नै सकाउँछ’ मैले श्रीमतीलाई भनेको वाक्य यही थियो । जंगलको त्यो लम्बेतान बाटो । अनि लगलग काँपेको ज्यान । घरको ओछ्यान छाडेर ‘मृत्युमार्ग’मा अघि बढ्नै कहाँ सकियो र ? टिप्परले बाटोमै अचार बनाउँछन् कि भन्ने अत्याससामु बरु घरमै गएर पो बाँच्न सकिन्छ कि ! भन्ने लाग्यो ।

मलाई थाहा छ, अहिले यो सबै सम्झेर म यति भावुक हुन जरुरी छैन । पाठकलाई ‘मेरा आँसु महान्’ भन्न जरुरी छैन । तर, यी आँसुमात्र होइनन्, सम्बन्धहरु पनि हुन् ।
भनिसकेँ, यो लेख आत्मस्वीकृति हो । त्यसका लागि अलिकति भूमिका बाँध्न दिनुहोस् ।

म संक्रमित यसकारण भएको थिएँ कि मैले मान्नुपर्ने स्वास्थ्य मापदण्ड मानिनँ । सरकारले म र मजस्तै नागरिकको ज्यानको सुरक्षाका लागि मापदण्ड मान्न भनेको थियो । म उल्टै सरकारलाई उडाउँदै हिडेँ । महामारीको महासंकटमा म ‘घुमघाम’ गर्दै थिएँ । खप्तडसम्मै पुग्ने योजनामा म काठमाडौंबाट निस्किएको थिएँ ।

यो शहरमा त्यस्ता मजदुर पनि बस्छन्, जसलाई लकडाउनमा राख्न सकिँदैन । खानका लागि हरेक दिन पसिना बगाउनुपर्छ । ढाडमा पुलिसका लाठीका डाम सहेर पनि काममा जानुपर्छ । तर, मैले लकडाउनलाई मजाक बनाएको थिएँ ।

दाङ नकटेको मेरा लागि खप्तड ‘दूर’ थियो । कवि केवल बिनाबीले भनेको थियो, ‘भाइको बिहे छ । बझाङ जाउँ ।’

यो बेला जानु हुन्छ कि हुँदैन ? मैले ठ्याम्मै विचारै नगरेको त होइन । तर ‘मलाई केही हुँदैन’ भन्ने अतिआत्मविश्वास भयो । ‘जाउँ कि नजाउँ’ भन्ने मनको द्वन्द्वमा ‘जाउँ न त’ भन्ने पक्ष हावी भयो ।

म जाने भएँ ।

११ वैशाखमा काठमाडौँबाट धनगढी र धनगढीबाट चैनपुर जहाजबाट एकै दिन पुग्यौँ । सोचेँ–कोरोनासँग लसपस भएन ।

अझ, १२ वैशाखमा त्यहाँको प्रसिद्ध चैतली मेला भर्‍यौँ । मेलामा लाग्ने भीड रोक्न प्रहरीले नाका थुनेको थियो । विभिन्न ठाउँ र भारतबाट आउनेहरुलाई पस्न दिएको थिएन । हामी भने ‘मस्टो नाच्ने’ पाटनमा मजाले नाच्यौँ । यो लापरबाही थियो । तर, हामीलाई लापरबाही लागेको थिएन ।

No description available.

त्यसपछि पनि हामी संक्रमित भएका थिएनौँ ।

बझाङ फेरि कहिले पुगिन्छ वा पुग्दै पुगिँदैन, थाहा थिएन । सम्झनामा जयपृथ्वीबहादुर सिंह छँदै थिए । उनले भाइका लागि छाडेको ‘कोट’ घुम्यौँ । त्यहाँको इतिहास खोतल्नतिर लाग्यौँ । स्थानीयबासिन्दालाई भेट्यौँ, कुरा गर्यौँ । कथित उपल्लो जातिले बताउने र दलित समुदायले भन्ने इतिहास फरक थियो । शासकहरुले जात झारिदिएर गरेको अत्याचारका कथा मार्मिक थिए । त्यो इतिहास मैले अझै कतै पढेको छैन । यी घटना सुनेपछि मलाई बझाङ पुगेकोमा कुनै विस्मात भएन । बरु यसबारे केही लेख्ने योजना मनमनै बुन्दै थिएँ । लेखनका प्लटहरु मिलाउनतिर लागेको थिएँ ।

यता काठमाडौँ आतंकित हुन थालिसकेको थियो । १६ वैशाखबाट काठमाडौँमा ‘निषेधाज्ञा’ शुरु हुने भयो । आन्तरिक उडान रोकिएको थिएन । कवि बिनाबी मलाई खप्तड पुर्‍याउन अझै प्रतिबद्ध थियो । मलाई भने अत्यास लाग्न थालिसकेको थियो । गाडी बन्द भयो र प्लेन पनि चलेन भने कसरी घर फर्किने ? त्यसले आतेस बढाएको थियो ।

हामीले फर्किने निधो गर्यौँ ।

१७ वैशाख बिहानै काठमाडौँका लागि निस्कियौँ । तर, अन्तिम रात जुन कोठामा बितायौँ, हामी त संक्रमितसँग अंगालो मारेर सुत्न पुगेछौँ । हामी संक्रमित भइसकेछौँ ।

त्यही दिन चैनपुर-धनगढी र धनगढी-काठमाडौँ जहाजको टिकट थियो । तर, पहाडी जिल्लाको विवशता । यात्रु नपुगेको भनेर धनगढीबाट चैनपुर प्लेन उडेन । चैनपुरमा पनि ‘लकडाउन’ शुरु भयो । अब भने फसादमा फसियो ।

‘भोलासम्म रुकौँ, बाज्या पनि झान्या हुन्’, मूलसडकको होटलमा मूलढोका थुनेर हामीलाई खाजा खुवाइरहेको होटलवाला भाइले भन्यो । तर, भोलिपल्ट पनि जहाज चल्ने निश्चित थिएन ।

भर्खरै एउटा बसले धनगढीबाट विद्यार्थी ल्याएर चैनपुर छाडेको रहेछ । रातभरि यात्रा गरेको बस बास नबसी तुरुन्तै धनगढी फर्कँदै रहेछ । त्यही होटलको भाइले खबर दियो । हामीले बस भेट्न ‘पिक–अप’ भ्यानलाई दौडायौँ । झन्डै २० किलोमिटर आएपछि बस पक्रियौँ । रित्तै रहेछ ।

भोलिपल्ट धनगढीबाट जहाज चढेर काठमाडौँ झर्‍यौँ । युद्ध जितेको महसुस भइरहेको थियो । तर, हामीले हारिसकेका थिएछौँ ।

१९ गतेबाट जिउ बेस्सरी दुख्न थाल्यो । भोलिपल्टबाट ज्वरो पनि थपियो । पर्सिपल्ट गरेको पीसीआरले ‘पोजिटिभ’ देखायो ।

यहीबीचमा मैले अर्को लापरबाही गरिसकेको थिएँ ।

घर फर्किएपछि म ‘क्वारेन्टिन’मा त बसेँ, तर त्यो नाम मात्रको भयो । मैले छोरालाई माया गरेँ । श्रीमतीलाई अँगालो हालेँ । म अबुझ भएँ । भनौं हेलचक्र्याइँ गरेँ ।

जब लक्षण देखिन थाल्यो, बल्ल पो चेत खुल्यो । ढोका थुनेर बस्न थालेँ । योबीच मन भुलाउन कामलाई जारी राखेँ । कार्यालयमा र अरु कसैलाई पनि जानकारी गराइनँ । यसलाई जितिहाल्छु भन्ने थियो ।

No description available.

जब चौथो दिनदेखि म अडिन सक्न छाडेँ, बल्ल संक्रमित भएको जानकारी गराएँ । पाचौँ दिन सम्पादकबाट कामबारे सोधखोज भयो । मैले कामबारे होइन, संक्रमणबारे बताएँ ।

अब हरेक दिन बुवा र आमा ढोका खोल्दै मेरो हालखबर सोध्न थाल्नुभयो । ‘ढोका नखोल्नू’ भन्ने मेरो आग्रह मान्दै मान्नुभएन । अनि त परिवारै संक्रमणको चपेटामा परिहाल्यो । पहिला आमा, त्यसपछि बुवा ।

बुवालाई त्यति गाह्रो थिएन । हरेक दिन ढोकाबाट आशालाग्दा आँखाले मलाई हेर्नुहुन्थ्यो । म अँध्यारो अनुहारले उहाँलाई हेर्थेँ ।

पाचौँ दिन म निकै कमजोर भइसकेको थिएँ । त्यो दिन मैले अन्तिम लेखन गरिरहेको पुस्तक (गैरआख्यान) को याद आयो । ‘म मरिगएँ भने मेरो पुस्तक छापिएला ?’ यस्तो पनि सोच आयो । अनि केही साथीका चित्र मष्तिस्कमा घुमे । शरीर कमजोर भएको बेला भावुक बन्न ठूलो विषय चाहिँदोरहेनछ । पातमात्र हल्लिने हावाले पनि मनमा आँधी मच्चाउँदो रहेछ ।

छैटौँ दिन लगातारजस्तो ती मान्छेहरु याद आइरहे, जसलाई म खूब मान गर्थेँ । उनीहरुबारे कहिल्यै गलत सोचिनँ । आफ्नो आदर्श मानिरहेँ । तर, ती मान्छे मेरो संसारबाट बेपत्ता थिए । फेसबुकका कमेन्टमा, म्यासेन्जर बक्समा, मोबाइलको ‘इनकमिङ कल’मा र म्यासेज बक्समा उनीहरुको नाम खोजिरहें । कतै देखिएनन् । उनीहरुलाई सम्झिएर म पहिलोपटक भावुक भएँछु । सम्बन्धको भ्रम यसरी पनि च्यातिँदो रहेछ । अब फेरि उनीहरुलाई सम्झेर म कहिल्यै भावुक हुने छैन । यस्तो प्रण पनि गरेँ ।

सोचाइ अनेकौं आउँदा रहेछन् ।

योबीच हौसला दिइरहने केही सहकर्मी, सम्पादक र वरिष्ठ साहित्यकारहरु साह्रै आत्मीय लागे । जसले एकपटक मात्र भए पनि जिन्दगीको उज्यालो कामना गरे ।

सातौँ दिन हो, जुन दिन म पहिलोपटक अस्पतालको ढोकामा पुगेर फर्किएको । रुँदै फर्किएको । निराश भएर फर्किएको ।

आठौँ दिन फेरि अस्पताल पुगेँ, भक्तपुर अस्पताल । त्यहाँ भर्ना हुन मैले सीडीओको भनसुन गराउनुपरेको थियो । कस्तो बाध्यता ! कस्तो बिडम्बना !

म उच्च रक्तचापको औषधि खाइरहेको मान्छे । रक्तचाप स्वाट्टै घट्यो । दिनभरि अस्पतालमा थिएँ । नियन्त्रण भएको थिएन । साँझ अर्का बिरामी आइपुगे । मभन्दा गम्भीर अवस्थाका उनका लागि बेड थिएन । मेरो मानवताले उनलाई फर्काएर आफू बेडमा सुतिरहन दिएन । मैले बेड छाडिदिएँ । र घर फर्किएँ ।

तर, रोगले मेरो भावुकता बुझ्दैन थियो । नवौँ दिन घरैमा थिएँ । फेरि अक्सिजन लेभल घट्यो । म ट्याक्सीमा शहरका अस्पताल–अस्पताल घुमिरहेँ । बेड कतै पाइएन । र, भनसुन गरेपछि साँझ सामाखुसीको विनायक अस्पताल भर्ना भएँ । त्यतिबेला म बोल्न सक्ने अवस्थामा थिइनँ । दोस्रोपटक जिन्दगीको माया लागेर आयो । यसपटक रुन सकिनँ । मसँग त रुने शक्ति पनि थिएनछ ।

भोलिपल्ट अस्पतालमा अप्रत्यासित घटना भयो ।

एउटा कोठामा पाँच बेड थिए । पाँचै जनाको अवस्था समान थियो, अक्सिजन दिएर राखिएको । हामी सबैलाई पल्लाछेउको शौचालयसम्म पुगेर आउँदा श्वास बढ्थ्यो, हुरुक्कै हुने गरी । त्यो रात हाम्रो सोधखोज गर्न नर्सहरु आएनन् । उनीहरु पनि त्रासमै थिए ।

नजिकैको बेडमा बेल्जियमबाट बिदा मनाउन आएकी संक्रमित नेपाली महिला थिइन् । भोलिपल्ट बिहान उनलाई श्वास फेर्न निकै सकस भयो । उनी चिच्याउन थालिन् ।

कसैले नर्सलाई बोलाइदियो । तर, उनले एकाएक नर्सहरुलाई गाली गर्न थालिन् । एउटी नर्स आवेशमा आइन् । उनले बिरामीलाई चेतावनी दिइहालिन्, ‘तपाईं जान सक्नुहुन्छ ।’

अनि त भेला भएका सबै नर्सले बिरामीलाई अस्पतालबाट निस्कन दबाब दिन थाले । मलाई खपिनसक्नुभयो । म बिस्तारै उठेँ र बसेँ । एकछिन बोल्न सकिनँ । त्यसपछि भनें, ‘सार्वजनिक यातायातले त ठाउँमा नपुर्‍याई निस्की भन्न पाउँदैन भने राज्यसँग स्वीकृत लिएर खोलेको अस्पतालबाट तपाईं जागिर खानेहरुले निस्की भन्ने अधिकार कहाँबाट पाउनुभयो ? तपाईंहरुको जबरजस्ती रेकर्ड गरौँ ?’

उनीहरु अलि मत्थर भए । एउटीले भनिन्, ‘नर्ससँग गुनासो भए प्रशासनलाई भन्नुस् ।’

‘ठीक भन्नुभयो । तपाईंहरुले भन्ने त यसो पो हो त,’ मैले भनेँ । उनीहरु बाहिरिए । ती बिरामी भने निकैबेर बर्बराइरहिन् ।

उनको असन्तोष नाजायज थिएन । हामी बसेको अस्पताल गुणस्तरहीन लजजस्तो थियो । जहाँ शौचालय पुग्न ठूलै हिम्मत गर्नुपर्थ्यो । शौचालय प्रायः जाम भइरहन्थ्यो । फोहोर र दुर्गन्ध उस्तै । त्यतिका बिरामीको लागि एउटै शौचालय । पालो कुर्दाकुर्दै ढलिएलाझैँ हुने ।

बिरामी सुत्ने कोठामा ढोका त थियो तर, कब्जा थिएन । मेरो बेड ढोकाछेउमै थियो । हावाको अलि ठूलो झोँका चल्दा ढोका ढलेर बेडमै आइपुग्थ्यो । पाले आएर हतारहतार ठड्याउँथे । उफ्… ।

No description available.

अस्पतालमा ह्विलचेयर गुडाउने बाटो थिएन । लिफ्ट त के होस् ? कोभिडका श्वास फेर्न नसक्ने बिरामी हिँडेरै चार तलामाथि पुग्नुपर्ने । म आठ दिन बस्दा एकदिन पनि बेडको तन्ना फेरिएन । सफाइ कस्तो थियो ? भनिरहनु पर्ला र ?

अस्पताल अलि गतिलो हुँदा मात्र पनि बिरामीलाई निको हुने अलि ढाडस हुँदो हो ! तर यो सम्झने कुरामात्र थियो । यहि अस्पताल भेट्न पनि मैले कति सकस गरेको थिएँ त्यो त मलाई नै थाहा थियो । तर सत्य यो हो कि त्यही अस्पतालले ज्यान बचाइदियो । र, यो अरु सबैभन्दा ठूलो गुन थियो, तिरनसक्नुको… ।

अस्पताल बसाइका केही दिनपछि अलि सुविस्ता भएको महसुस भएपछि दिन कटाउन सामाजिक सञ्जाल चिहाउन थालें । तर तिनले मलाई सान्त्वना होइन, थप पीडा दिए ।

कसैको मृत्यु भएपछि आउने श्रद्धाञ्जलीका मालेताँती देखेर दिक्क लाग्थ्यो । सोचें, मर्ने मानिस मरि नै गयो । श्रद्धाञ्जली र समवेदना दिने भए उनका परिवारलाई फोन वा म्यासेज गरेर दिए भइगयो । यो सञ्जालमा केको रोइलो गरेको होला ? किन अत्याइरहेका होलान् संक्रमितहरुलाई ?

म अस्पतालमै हुँदा यता आमा अर्को अस्पतालमा भर्ना हुनुभयो । बुवालाई पनि बिस्तारै च्याप्दै लग्यो र निमोनिया भयो । घरमा बुबाचाहिँ आमा छोरोलाई कस्तो छ भनेर चिन्तित । म उहाँहरुलाई सम्झेर चिन्तित ।

छोरोलाई संक्रमणबाट बचाउन आफन्तको घर पुर्‍यायौँ । हामी पाँच जनाको परिवार चारतिर भयौँ । बाँकी ‘वान म्यान आर्मी’ श्रीमती थिइन् । उनको धपेडी सम्झेर पनि म भित्रभित्रै भावुक हुन्थें ।

अस्पताल बसेको एक हप्तापछि म घर फिरेँ । सुखद संयोग, त्यही दिन आमा पनि अर्को अस्पतालबाट डिस्चार्ज हुनुभयो । बुवा अझै निमोनिया र ज्वरोसँग जुधिरहनुभएको छ । १३ दिन भयो । ‘अस्पताल भर्ना गर्नु नपरोस्’ भन्ने कामनामा छौँ । छोरो आफन्तकै घरमा छ ।

हामी पुनर्मिलनको पर्खाइमा छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *