सञ्चारकर्मीलाई चलचित्रकर्मी पौडेलको सहयोग

काठमाडौँ । कोरोना कहरको महामारीबिच सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् ।
अमेरिकाबाट पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कुलेन्द्र सेजुवाल लगायतको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेले एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड-१९ को सङ्क्रमणका परेका र सङ्क्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगका लागि हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे । ‘समग्र सञ्चारकर्मीहरूको पेसागत सुरक्षा र स्वास्थ्य सुरक्षाको पक्षमा उभिनु हाम्रो दायित्व हो’, पराजुलीले भने, ‘प्रदेश समितिले अघि बढाएको यो अभियान र अग्रसरतामा हातमा हात मिलाउने सहयोगी मनहरूप्रति कृतज्ञ छौँ ।’ उनले उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताए ।
कोरोनाको दोस्रो लहर आउनु पूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिद्ध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय छन् । उनले यसअघि ‘रुद्र प्रिया’, ‘राज्जा रानी’लगायतका चलचित्र निर्माण गरिसकेका छन् । पेसाले सञ्चार उद्यमी पनि हुन्, पौडेल । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशमा विभिन्न विधामा सक्रिय १२ वटा सङ्गठन आबद्ध छन् ।








