‘त्रासले मनोबल घटाउँछ त्यसैले जिम्मेवार बनेर मात्र समाचार दिऊँ’

कोभिड-१९ को महामारीले विश्व आक्रान्त छ । नेपालमा कोरोनाको तेस्रो भेरियन्ट फैलिएको पुष्टि भइसकेको छ । यससँगै स्वास्थ्य मन्त्रालयले थप सचेत हुन र सतर्कता अपनाउन आग्रह गरेको छ । सधैँजस्तै महामारीको समयमा पनि सञ्चारमाध्यममा विभिन्न समाचारहरू आउने नै भए, आइरहेका छन् । महामारीका बेला समाचारले तनाव दिएका कुराहरू पनि पटक पटक आउने गरेका छन् ।

पाठकहरुले समाचार कति सत्य हो ? कति विश्वसनीय छ ? भन्ने कुराको खोजी नगरी पत्याइहाल्ने र सेयर गर्ने गरेको देखिन्छ । यसले गर्दा पनि समस्या हुने गरेको छ । धेरै समाचार पढ्ने र फलो गर्नाले व्यक्तिको मनोविज्ञानमा असर पुर्‍याउँछ ।

यो कुराको पहिलो जिम्मेवार सञ्चार माध्यम नै हो र हुनुपर्छ । सञ्चार माध्यमले सत्य समाचार देखाउनैपर्छ । संक्रमणदर, अस्पतालमा शय्याको अवस्था, औषधि वा उपकरणको पर्याप्तता वा अभाव, उपचारको अवस्था, जनशक्तिको अभाव वा पर्याप्तता जे छ त्यो कुरा सञ्चार माध्यमले देखाउनैपर्छ । यो ठिक आवश्यक पनि हो । तर त्यही कुरालाई पनि अलि जिम्मेवारीपूर्वक प्रस्तुत गर्नुपर्छ भन्ने लाग्छ ।

टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइन सबै मान्छेले पछ्याएका हुन्छन् । त्यसैले अनलाइनमा के लेख्ने, टेलिभिजनमा के देखाउने त्यसमा सञ्चार माध्यम र पत्रकार तथा सञ्चारकर्मी थप जिम्मेवार हुनुपर्ने अवस्था देखिएको छ । मिडियाले कोभिडबाट मृत्यु भएकाहरुलाई घाटमा जलाइरहेको हृदयविदारक दृश्य देखाउने कि कोरोनाबाट भएको मृत्यु संख्यामात्र देखाउने ? यसले पाठक/दर्शक/श्रोतालाई के कस्तो असर पर्छ ? भन्नेबारेमा सोचेर सामग्री प्रकाशन/प्रसारण गर्ने हो भने त्रास कम हुन्छ ।

समाचार लेख्दा कोरोना जितेकाहरुको संख्यालाई किन प्राथमिकता नदिने ? खाली मृत्यु र संक्रमणलाई मात्र किन पहिलो स्थान दिने ? भेन्टिलेटरमा, आईसियूमा ४५ दिनसम्म बसेर कोरोना निको भएका घटनाहरु पनि छन् । त्यस्ता समाचारलाई स्थान दिएमा जो संक्रमणमा परिसकेका छन् उनीहरुको मनोवल उच्च हुन्छ । आशा बढेर आउँछ । नकारात्मक कुरालाई बढी र पहिलो स्थान दियो भने नैराश्यता थपिन्छ । यस्तो समयमा मान्छेमा डर र नैराश्यता हावी भएमा आत्तिएर केही नहुँदा पनि अस्पताल जाने, अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री थुपारेर राख्नेजस्ता क्रियाकलापहरु बढ्दै जाने खतरा हुन्छ । त्यसैले आशा जगाउने खालका समाचार वा अन्य सामग्री प्रकाशन प्रसारणमा ध्यान दिन सके यसले सबैलाई फाइदा पुग्छ ।

अनावश्यक रुपमा बढेको डर र त्रासका कारण पनि हुन सक्छ पछिल्लो समय दोहोर्‍याएर पीसीआर टेस्ट गर्ने क्रम बढेको पाइएको छ । चिकित्सकहरुले नै बारम्बार संक्रमणको ९ दिनपछि कोरोना सर्दैन र १४ दिनभन्दा बढी आइसोलेसनमा बस्नु पर्दैन भनिरहेका छन् ।

दोहोर्‍याएर पीसीआर टेस्ट गर्नु नपर्ने कुरा पनि चिकित्सकले भनिरहेका छन् । यस्ता कुरालाई मिडियाले प्राथमिकता र राम्रो स्थान दिएमा भने बिरामीको मनोवलसँगै अस्पतालमा चाप पनि घट्छ । सरकारले अहिले देखाइरहेको र वृद्धि भइरहेको संक्रमणको संख्या दोहोर्‍याएर गरेको पीसीआरको संख्या पनि जोड्दा भएको संख्या हुनसक्छ। जुन परीक्षण गर्नुपर्दैन भनेर चिकित्सकले भनिरहेका छन् ।

२४ घण्टा समाचार हेर्नाले पनि मानसिक रुपमा दिक्दारी बढ्न सक्छ । समाचार हेर्न, पढ्न र सुन्न दिनमा बढीमा २ समय मात्र छुट्याउन सकिन्छ । समाचार हेरिरहन मन लाग्ने व्यक्तिले पनि एक दिनमा २ पटकभन्दा बढी समाचार नहेर्ने । समाचार हेर्दा नेपाल सरकारको, स्वास्थ्य मन्त्रालयको र अन्तर्गतका निकायहरुको विज्ञप्ति र आग्रह अनुरोधहरू मात्र पढ्ने सुन्ने र विश्वास गर्ने यस्तै, पढे लेखेका र बुझ्नेहरुले डब्लूएचओको समाचार हेर्ने, नेपालका मिडियामा समाचार हेर्दा सकारात्मक समाचार प्रवाहमा जोड दिने र आधिकारिक र विश्वसनीय मिडियाको समाचारमात्र हेर्नुपर्छ ।

अहिले धेरैले हेरुन् वा शेयर गरुन् भनेर डरलाग्दा हेडलाइनहरु राखेर, भए/नभएका कुराहरुलाई बढाइचढाई गरेर पनि सञ्चारमाध्यममा आउने गरेको पाइन्छ । भाइरल हुने भन्ने मानसिकता रहेको पाइन्छ । यसका लागि जे पनि भने हुन्छ भन्ने गलत प्रवृत्ति पनि पाइने गरेको छ यो एकदमै गलत कुरा हो । यसले हजारौं लाखौं आम नागरिकलाई एकैसाथ नकारात्मक असर गरिरहेको हुन्छ । यस्तो बेलामा समस्या समाधान गर्न तपाईं हामी सबैको दायित्व हो नि ! सबै मिडिया, फेसबुकलगायत सामाजिक सञ्जालका समाचार हेर्न थाल्यो भने मान्छेको मनोविज्ञानमा सामान्य असरमात्र होइन गाह्रो स्थिति सिर्जना हुन्छ । त्यसैले सकभर समाचारबाट टाढा बसौँ । सकिँदैन भने पनि दिनमा एक/दुईपटक मात्र समाचार हेरौँ, पढौँ ।

भ्रामक समाचार धेरै पढ्नाले बिरामीलाई मात्र होइन, चिकित्सकको मनोविज्ञानमा समेत असर पर्छ । खाली मरेको मात्र समाचार हेर्दा चिकित्सक पनि भयभित हुन्छन् । मान्छेको मनोविज्ञानले सामान्य व्यक्ति, चिकित्सक वा पत्रकार केही भन्दैन । त्यसैले यो सबैजनाले ध्यान पुर्‍याउनुपर्ने कुरा हो । मनोवल उच्च भयो भने रोगसँग लड्ने क्षमता पनि बढी हुन्छ । त्यसैले सचेत रहनुपर्छ । डराउनु र त्रासमा बस्नु हुँदैन । अफवाहको पछि लाग्नु हुँदैन ।

(धुलिखेल अस्पतालमा कार्यरत मनोचिकित्सक. रिसालसँग मकालु खबरकर्मी मनिषा पौडेलले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *