राष्ट्रिय सभा उपनिर्वाचन

‘बादल हार्छन् भनेर कसले पत्याउँछ ?’

काठमाडौं । बागमती प्रदेशबाट निर्वाचित एक राष्ट्रिय सभा सदस्यका लागि बिहीबार (भोलि) उपनिर्वाचन हुँदैछ । सत्तापक्षीय एमालेको तर्फबाट रामबहादुर थापा ‘बादल’ उम्मेदवार बनेका छन् भने विपक्षी गठबन्धनको तर्फबाट खिमलाल देवकोटा चुनावी मैदानमा उत्रिँदैछन् । योसँगै चुनाव कसका लागि फलदायी होला भन्ने आमजिज्ञासा उठ्न लागेको छ ।

सत्तापक्षीय एमाले र विपक्षी गठबन्धनले आ—आफ्नो उम्मेदवार भारी मतका साथ विजयी हुने दाबी गरिरहेका छन् । तर, मतको गणित हेर्दा देवकोटाको पल्लाभारी हुने सम्भावना बढी छ । त्यसो त यसमा विपक्षी एमालेको भूमिका कस्तो रहने भन्ने कुराले पनि ठूलो अर्थ राख्नेछ । यसअघि मंगलबार (हिजो) सत्तापक्षीय एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ विपक्षी एमालेको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाल निवासमै पुगेर ‘मत मलाई दिनुस्’ भनेका थिए । बादलको आग्रहमा नेता नेपालले केही प्रतिक्रिया नजनाएको नेपाल निकट एक नेताले बताए । मकालु खबरसँग ती नेताले भने— ‘उहाँ (नेपाल) ले त्यो कुरामा कुनै खालको प्रतिक्रिया दिइसक्नुभएको छैन । बाहिर मिडियामा चाहिँ धेरै कुरा देखियो । मिडियामा आएजस्तो केही भएको छैन । न त उहाँले सकारात्मक प्रतिक्रिया नै दिनुभएको छ न नकारात्मक नै ।’ उसो त नेता नेपालको सचिवालयले पनि ‘बादलाई सघाउने’ सहमति नभएको कुरा प्रेस नोटमार्फत नै प्रष्ट पारिसकेको छ ।

तर, यता सत्तापक्षीय एमालेका नेता सुवासचन्द्र नेम्वाङ्गले भने बादलले जित्ने कुरामा कुनै शंका नै नरहेको दाबी गर्छन् । नेम्वाङ्गले मकालु खबरसँग भने— ‘बादलले हार्नुहुन्छ भनेर कसैले पत्याउँछ र ? सत्तारुढ दलको नेता हुनुहुन्छ उहाँ । यसै पनि जित्नुहुन्छ । उहाँहरुले जित्ने कुरामा कुनै दुविधा छैन । उहाँले हार्नुहुन्छ भन्दा कसैले पत्याउँछन् र भनेको ?’

नेता नेम्वाङ्गले विपक्षी एमालेसँग निरन्तर वार्ता भइरहेको बताउँदै विपक्षी एमालेले पनि बादललाई नै आफ्नो मत दिने दाबी गर्छन् । ‘उहाँहरुसँग पनि निरन्तर वार्तामा छौँ हामी । उहाँहरुले सकारात्मक कुरा गर्नुभएको पनि छ । यस अर्थमा मलाई विश्वास छैन कि उहाँहरुले बादललाई मत दिनुहुन्न भनेर । वरिष्ठ नेताजस्तो मान्छे हुनुहुन्छ उहाँ । त्यस्तो निर्णय कहिल्यै गर्नुहुन्न भने कुरा थाहा छ ।’

यता बागमती प्रदेशकी इन्चार्जसमेत रहेकी विपक्षी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले भने बादललाई मत दिने कुराको पार्टीले निर्क्यौल गरिनसकेको बताउँछिन् । ‘माथिल्लो तहमा एउटा वार्ता त भइरहेको छ,’ नेतृ शाक्यले मकालु खबरसँगभनिन्— ‘तर, यसो भन्दैमा पार्टी विधि विधानअनुरुप चलेको छैन । हाम्रो माग भनेको पार्टी सुदृढ हुनुपर्छ र पार्टी विधि पद्धतिअनुसार चल्नुपर्छ भन्ने हो । त्यो भएको पनि छैन । अहिल्यै बादललाई मत दिने भन्ने कुरा त कहाँबाट आउनु ? हाम्रो उम्मेदवार खिमलाल देवकोटा नै हुन् ।’

अतः विपक्षी एमालेले बादललाई मत दिन्छ भनेर विश्वास गरिने ठाउँ कम छ । किन पनि भने विपक्षी गठबन्धनबाट उठेका देवकोटा पनि विपक्षी एमालेकै नेता हुन् र सत्तापक्षीय एमालेका तर्फबाट उम्मेदवार बनेका बादल एमालेमै रहनुहुन्न भन्ने विपक्षी एमालेको लाइन हो । यो अर्थमा पनि देवकोटाको पल्लाभारी हुने सम्भावना बढी छ ।

राजनीतिक खिचातानीरहित अवस्थाको मतको गणित हेर्दा मात्रै भने यो निर्वाचन देवकोटाकै लागि फलदायी हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *