व्यवसायी मल्होत्राको नेतृत्वमा २२५० अक्सिजन सिलिन्डर वितरण गरिँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष व्यवसायी दीपक मल्होत्राको  नेतृत्वमा चीनको बेइजिङबाट २ हजार २ सय ५० भन्दा बढी अक्सिजन सिलिन्डर ल्याएर निःशुल्क वितरण गरिने भएको छ । खास गरी कोरोना संक्रमित विरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव भोगिररहेका सरकारी अस्पतालहरुलाई ती सलिन्डर निःशुल्क वितरण गरिने आइएमएस ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी मल्होत्राले मकालु खबरलाई बताए ।

‘हामीले सुरुमा २२५० सिलिन्डर ल्याउने भनेका थियौं,’ मल्होत्राले भने, ‘अझै धेरै माग आइरहेकोले यसमा केही संख्या अझ थप हुने भएको छ ।’

उनका अनुसार नेपाल चेम्बर अफ कमर्सका अन्य सदस्यको समेत योगदान रहने गरी सिलिन्डर ल्याएर अस्पतालहरुलाई निःशुल्क वितरण गरिने छ । आफूहरुले बिक्रीका लागि भने सिलिन्डर ल्याउने कुनै

योजना नबनाएको उनले बताए । ‘हामी व्यवसायीले निश्चित फण्ड रेज गरेर अक्सिजन सिलिन्डर किन्ने छौं, र त्यो ल्याएर अस्पतालहरुलाई भने निशुल्क दिने छौं । बिक्रीको योजना छैन ।’
मल्होत्राको डीएम फाउन्डेशनको तर्फबाट भने २२५० मध्ये ५ सय सिलिन्डर निशुल्क वितरण गरिने भएको छ ।

‘यी सिलिन्डरहरु आउँदो आइतबारसम्ममा बेइजिङबाट तातोपानी नाकामा आइपुग्छन्,’ उनले भने, ‘सोमबार काठमाडौंमा आइपुग्छ । काठमाडौं आएपछि चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाको समन्वयमा जिल्ला, प्रदेश केन्द्रका देशभरका सरकारी अस्पताललाई आवश्यकताअनुसार वितरण गरिने छ ।’

कोभिडको उपचारमा अक्सिजनको अभाव हटाउन सकेपछि ठूलो सफलता मिल्ने उनको भनाई छ । गत वर्ष पनि मास्कको चरम अभाव भएका बेला आफूहरुले दैनिक ८० हजार मास्क उत्पादन गर्ने गरी उत्पादन प्लान्ट स्थापना गरी काम गरेको उनले बताए ।

मल्होत्राको आईएमएस ग्रुपअन्तर्गत, सामसुङ मोबाइल र गाडीको बिक्री वितरण हुँदै आएको छ । त्यस्तै डिजिटल पेइमेन्ट गेटवे सेल पे समेत सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =