पूर्वरानी र अधिराजकुमारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन ।
उनी अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरू भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्वअधिराजकुमारी समेत डिस्चार्ज भएकी थिइन् ।
अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो ।
अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो ।
निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको उनको अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
पूर्वराजा, पूर्वरानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिस्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न रहेको जनाएको छ ।








