इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर : २७ अर्ब पूँजीसहित देशकै ठूलाे बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार दिउँसो नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपालको वित्ती क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर÷एक्वीजिसन नीतिको अनुसरण गर्दै यी दुबै बैंकले आपसमा गाभिएर एकीकृत कारोबार गर्न सम्झौता गरेको जनाएका छन् ।

वाणिज्य बैंकको क्षेत्रमाअग्रणी बैंकको रुपमा यी दुई बैंक आपसमा गाभिएपछि देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने सम्झौतापछि जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक हुने र संचालक समितिको अध्यक्षको पृथ्वी बहादुर पाँडे हुने तय भएको छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शमसेर राणा रहने सम्झौता भएको छ ।

त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । हिमालयन बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड रहेको छ । गाभिएर बन्ने बैंकको चुक्तापुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने भएको छ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्टको जगेडा तथा कोष १४ अर्ब १० करोडको र हिमालयन बैंकको ७ अर्ब ६७ करोड रहेको छ । कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको १ खर्ब ६० अर्ब ९८ करोड र हिमालयन बैंकको १ खर्ब २७ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १ खर्ब ६८ अर्ब २९ करोड र हिमालयन बैंकको १ खर्ब ४३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

प्रतिक्रिया