अस्पताललाई कोही पनि चाहिएको छैन (कविता)

यति बेला अस्पताल चकमन्न छ

सधैँ बिरामी जाँच्ने डाक्टर चुप छन्
सधैँ बिरामी स्याहार्ने नर्स चुप छन्
दबाइ बेच्ने, सरसफाइ गर्ने सबै चुप छन्

एम्बुलेन्स र शवबाहन मिसिएको आवाज
कतै पनि बजेका छैनन्

परबाट देख्नेहरू बेकारमा आत्तिएका हुन्
अस्पतालमा हुनेले
नजिकैबाट केही देखिरहेका छैनन्
नजिकैबाट केही भोगिरहेका छैनन्
कहिल्यै सुन्नु नपरेको
विरहको एकोहोरो धुन सुनिरहेको छैनन्

यति बेला अस्पताल शान्त छ

बिरामीहरू आह्या र आत्था गरिरहेका छैनन्
एक घुट्को सासको लागि लडिरहेका छैनन्
आफन्त बेड र अक्सिजन खोज्न भौँतारिँदै
हरेक पल मर्दै बाँच्दै गरिरहेका छैनन्

अस्पतालमा कोही रोएकै छैनन्
अस्पतालमा कोही चिच्याएकै छैनन्
अस्पतालमा सबै मौन छन्

डाक्टर र नर्सका हातहरू
घण्टौँ पन्जाभित्र गुम्सिएर
सेतो भएका छैनन्
अनुहारहरू
घण्टौँ मास्कभित्र रगडिएर
रातै भएका छैनन्
शरीरहरू
घण्टौँ पिपिई भित्र बाफिएर
थिलथिलो भएका छैनन्

ती आफू बिरामी हुँदाहुँदै पनि
बिरामीको सास बोकिरहेका छैनन्
ती आफू नसुती नसुती पनि
बिरामीको निन्द्रा खोजिरहेका छैनन्

यति बेला अस्पताल स्वस्थ छ
त्यहाँ केहीको अभाव खड्किएको छैन
केहीको मूल्यले आकाश छोएको छैन

परबाट सुन्नेहरू बेकारमा आत्तिएका हुन्
यति बेला अस्पतालमा गएर हेर्दा
कोही आत्तिनुपर्ने कारण नै छैन

त्यहाँ आँखै अगाडी मान्छे मरिरहेका छैनन्
हाँस्दा हाँस्दैको मान्छे मरिरहेका छैनन्
बोल्दा बोल्दैको मान्छे मरिरहेका छैनन्

कसैको फोक्सो पातलिएको छैन
कसैको सास बरालिएको छैन
कसैको आस धमिलिएको छैन

कोही होपलेस भएकै छैनन्

अस्पतालबाट
मुटु चुँडाउने खाले
कुनै अप्रिय खबर बाहिर गएको छैन

यति बेला अस्पतालमा ढुक्क छ

एउटाको भन्दा अर्काको पीडा
अर्काको भन्दा अर्काको पीडा
बढ्दै बढ्दै एउटा पीडाले अर्को पीडालाई गिज्याएको छैन

एउटा चिज सकिएर अर्को चिज
अर्को चिज सकिएर अर्को चिज
सकिँदै सकिँदै एउटा चिजले अर्को चिजलाई सिद्ध्याएको छैन

कोही मरेर उसको बेड अर्कोले चलाउनुपरेको छैन
कोही मर्दा ‘बेडा खाली भयो’ भनेर कसैले कराउनुपरेको छैन

कसैले कसैको मृत्युको कामना
कसैको लागि गर्नुपरेको छैन
कसैले मृत्युको कबुलियतनामामा
काँप्दै ल्याप्चे लाउनुपरेको छैन

अस्पताललाई अक्सिजन चाहिएको छैन
अस्पताललाई नयाँ बेड चाहिएको छैन
अस्पताललाई राहत चाहिएको छैन

यति बेला अस्पतालमा शान्ति छ
यति बेला अस्पतालमा सुख छ

ए सरकार
ए संसद्
ए सर कार
ए सं सद्

अस्पतालमा नजाऊ
अस्पतालमा नहेर
अस्पताललाई नबोलाऊ

अस्पतालको लागि भनेर
तिम्रा महत्त्वपूर्ण कुनै काम नरोक
तिम्रा महत्त्वपूर्ण कुनै खेल नरोक
तिम्रा महत्त्वपूर्ण जालझेल नरोक

‘यति बेला सबै थोक नियन्त्रणमा छ’
एब्रिथिङ इज अन्डर कन्ट्रोल

अस्पतालको लागि म छु भनेर
कसैले सुन्ने गरी कतै नभन

अस्पताललाई तिमी चाहिएको छैन

अस्पताललाई कोही पनि चाहिएको छैन।

प्रतिक्रिया