टर्दैछ बहुमतको सरकार बन्ने सम्भावना !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउन दिएको समयसीमा बिहीबार (आज) बेलुका सकिँदैछ । तर, विपक्षी दलहरुहरुबीच सल्लाह नमिल्दा तोकिएको समयसीमाभित्र बहुमतको सरकार बन्ने सम्भावना टर्दै गएको छ ।
भलै यसबारेमा विपक्षी दल छलफलहरुमा व्यस्त छन्, कुनै सहमति भइसकेको वा सहमति हुनेजस्तो वातावरण भने देखिएको छैन ।

राष्ट्रपति भण्डारीले गत वैशाख २७ गते साँझ नेपालको संविधानको धारा ७६ (२) बमोजिम तीन दिनभित्र बहुमतको सरकार बनाउन आह्वान गरेका थिइन् । धारा २ बमोजिमको अर्थात् बहुमतको सरकार नबने धारा ७६ (३) अनुसारको सरकार बन्ने सत्तासिन एमालेको अडान छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरसँग भने– ‘राष्ट्रपतिज्यूले तीन दिनको समय दिनुभएको थियो । तर, बहुमतको सरकार बन्ने सम्भावना देखिँदैन । अब यसो भएपछि धारा ७६ को ३ बमोजिमको सरकार बन्नुपर्छ । अब उसैगरी कदम चालिन्छ ।’

विपक्षी दलहरुले सहमति जनाउलान् त ? भन्ने सवालमा नेता नेम्वाङ्गको प्रतिक्रिया छ– ‘सहमति नजनाएर त हुँदै भएन नि । समय दिएकै हो, समयसीमाभित्र बहुमतसिद्ध गर्न नसकेपछि सरकार त बनाउनैपर्यो । अब सरकार बन्छ ।’ यता नयाँ सरकार गठनको कसरतमा जुटिरहेका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मात्रै बहुमत पुग्दैन । जनता समाजवादी पार्टी (जसपा) भित्र नयाँ सरकार बनाउने कि नबनाउने भन्नेमा मत मिलिनसकेका कारण नयाँ सरकार बनाउन आवश्यक पर्ने बहुमत अपुग हुन्छ ।

यसो त जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल पनि गरिरहेको छ । यसै क्रममा जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बुधबार भेटघाटमा व्यस्त रहे । जसपाले ठाकुरलाई नयाँ प्रधानमन्त्रीका रुपमा अघि सार्ने तयारी पनि गरिरहेको छ ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यसअघि प्रधानमन्त्री नबनेका व्यक्तिलाई नयाँ प्रधानमन्त्रीका रुपमा अघि बढाउने प्रस्ताव गरेका छन् । तर यो प्रस्तावबारे माओवादी र कांग्रेसले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा दिए प्रतिनिधि सभामा कायम सांसद संख्या कम हुन गइ बहुमत पुर्याउन सकिन्छ भन्ने कांग्रेस एमालेको तयारी हो । तर, सत्तापक्षीय एमालेले नेपाल पक्षका ४ नेताको निलम्बन फुकुवा गरेसँगै नेपाल पक्षको राजीनामा तत्काललाई टरेको आकलन गरिएको छ ।

कांग्रेस र माओवादीसँग प्रतिनिधि सभामा जम्माजम्मी ११० सांसद मात्रै छन् । तर, बहुमतको सरकारका लागि १३६ जना सांसदको समर्थन चाहिन्छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा ३ मा ‘प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’ भन्ने उल्लेख छ । अहिले सत्तासिन एमालेले भनेजस्तो यो धाराअनुरुप सरकार बने ओली नै पुनः प्रधानमन्त्री हुनेछन् ।

बहुमतीय सरकार गठनका लागि उपलब्ध समयसीमा घर्किँदै जाँदा राजनीति कसरी अघि बढ्ने हो भन्ने आकलन गरिहाल्न भन अझै नसकिने अवस्था छ ।

प्रतिक्रिया