नर्स र नर्सिङ (कविता)

मातृस्नेह सरी पवित्र मनको माया जहाँ मिल्छ रे
बाबाकै जसरी सदैव बलियो आधार जो दिन्छ रे।
पूजा ईश्वरको गरेर जगले यै धर्म हो भन्छ रे
सेवा दूर्वलको गरेर जसले आनन्द पो लिन्छ रे ॥१॥

मात्रै नर्सिङ हो जहाँ छ मनमा नि:श्वार्थको भावना
आफ्नो प्राण धराप राख्छ जसले संसार जोगाउन ।
तिम्रो चोट भरेर बल्ल जसले आफ्नो पिडा भुल्दछ
तिम्रो दु:ख घटेर बल्ल उसको मन्मा खुसी मिल्दछ ॥२॥

तिम्रो रोग र शोकमा छ जसको हरदिन् सदा तत्पर
तिम्रै भोक र प्यास हुन्छ उसको हर् रातको उत्तर ।
भोकै पेट बसेर गर्छ जसले सेवा सुरक्षा भर
आफ्नो रात भुलेर देख्छ तिमरै स्वप्ना मिठो सुन्दर ॥३॥

माया कञ्चन हुन्छ नित्य मनको सद्भाव मेटिन्न रे
कस्तो धैर्य अहो समस्त भवमा खोजेर भेटिन्न रे ।
केवल् नर्स त हुन्छ उक्त गुणले जो हुन्छ रे सज्जित
झुक्दै आदरले म लेख्छु कविता गर्दै यहाँ अर्पित ॥४॥

शर्मा निजामती कर्मचारी अस्पताल काठमाडौंमा कार्यरत छन् ।

प्रतिक्रिया