प्रदेश १ मा २१ सय शय्याको डेडिकेटेड अस्पतालको तयारी, पाँच अस्पताल डेडिकेटेड हुने

विराटनगर । प्रदेश १ सरकारले पाँच ठुला अस्पताललाई डेडिकेटेड कोभिड अस्पाल बनाउने अभियान थालेको छ । प्रदेश १ का पाँचवटा ठुला अस्पतालहरूमा २१ सय शय्याको ‘डेडिकेटेड कोभिड अस्पताल’ बनाउन संघीय सरकार समक्ष प्रस्ताव गरेको हो ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा अस्पतालका संचालकहरुसहित बसेको उच्च स्तरीय बैठकले कोभिड-१९ को संक्रमण तीव्र रुपमा फैलिएको अवस्थामा संक्रमितहरुको उपचारका लागि डेडिकेटेड अस्पताल निर्माण गर्न अनुमति दिन संघीय सरकारसमक्ष प्रस्ताव गरेको हो ।

प्रदेश सरकारले प्रस्ताव गरेका डेडिकेटेड अस्पतालमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको विराट मेडिकल कलेज, नोवल मेडिकल कलेज र झापाको विर्तामोडस्थित बी एन्ड सी अस्पतालमा कम्तिमा पनि पाँचसय शय्याका दरले कोभिड डेडिकेटेड अस्पताल संचालन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

निर्णयपश्चात् आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि नेपाल सरकार समक्ष प्रस्ताव पठाउने निर्णय गरिएको छ । प्रदेश सरकारले विराटनगरकै न्यूरो, कार्डियो तथा मल्टिस्पेसियालिटी अस्पतालमा एकसय शय्या क्षमताको कोभिड अस्पताल निर्माण गर्न अनुमतिका लागि प्रस्ताव गर्ने निर्णय भएको हो ।

अनुमतिका लागि प्रदेश क्राइसिस कोअर्डिनेसन एन्ड म्यानेजमेन्ट सेन्टर (पीसीसीएमसी) को बैठकबाट नेपाल सरकार समक्ष प्रस्ताव गर्ने गरी निर्णय भएको छ । बैठकबाट निजी अस्पतालहरुलाई कोभिड उपचारमा दिइँदै आएको अनुदान रकमलाई अझ स्पष्ट गरेर थप अनुदान रकम उपलव्ध गराउन आग्रह गर्ने र अस्पतालहरुले पनि गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउने गरी निर्णय भएको जनाइएको छ ।

बैठकले सीमानाका र आन्तरिक आवगमन एवं व्यापार व्यवसायलाई नियन्त्रित रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कार्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेतृत्व गर्ने र नेपाल सरकारको नीति एवं निर्देशनसँग सामञ्जस्यता कायम हुनेगरी स्थानीय तहसँगको समन्वय र सहकार्यमा नयाँ कार्ययोजना तर्जुमा गर्ने पनि निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया