महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना

काठमाडौं । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ ।
महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने भएका छन् । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट समेत गरिएको छ ।
अक्सिजन सिलिन्डर व्यवस्थापनको जिम्मा रामचन्द्र संघाई र सौरभ ज्योतिलाई दिइएको छ । त्ययस्तै, अस्पताल र आइसोलेशन केन्द्रको सहजीकरणको जिम्मा हेमराज ढकाल र रविन श्रेष्ठलाई दिइएको छ ।
अस्पताल व्यवस्थापन देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा. केयुर गौतमलाई दिइएको छ । एम्बुलेन्स र आइशोलेशन केन्द्रको व्यवस्थापन गर्ने जिम्मा रन्जितराज आचार्यलाई दिइएको छ । त्यस्तै, औषधि र मेडिकल उपकरणको जिम्मा प्रवलजंग पाण्डे र भक्त हमाललाई दिइएको छ । होटल तथा हवाइ यातायात व्यवस्थापनको जिम्मा ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई दिइएको छ ।
सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतहरु हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरी आवश्यक सेवा टिपाउन सकिने जनाएको छ ।
सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसग पहल गर्ने महासंघले जनाएको छ ।
एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत महासंघले यसअघि हेल्लो डाक्टर सेवा सञ्चालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिन सुरु गरिसकेको छ ।








