घट्दैछ निको हुने दर, मृतक बढे

काठमाडौँ । नेपालमा कोभिड-२९ संक्रमितको ग्राफ उकालो लागेको छ भने निको हुने दर घट्दैछ । त्यसो हुँदा दैनिक मृतकको संख्या पनि बढेको हो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्कलाई हेर्दा परीक्षण गराएका मानिसहरूमा संक्रमण दर निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ । पछिल्लो १५ दिनमा १ लाख २३३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो अवधिमा कोभिड-१९ सँग सम्बन्धित कारणले थप ६८३ जनाको ज्यान गएको छ ।

वैशाख १३ गते कुल संक्रमितको सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ थियो भने वैशाख २७ गतेसम्म बढेर ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ । वैशाख १३ गते एकैदिन ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो भने सोही अवधिभित्र ७ जनाले ज्यान गुमाएका थिए । त्यो दिन संक्रमण दर १२.५ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै कुल मृतक संख्या ३ हजार १ सय ७६ थियो भने निको हुने दर ९१.५ प्रतिशत रहेको थियो ।

वैशाख १३ गतेको तथ्याङ्क । स्रोत : स्वास्थ्य तथा जनासंख्या मन्त्रालय

वैशाख १३ गतेबाट २७ गतेसम्म अर्थात्‌ त्यसको ठ्याक्कै १५औँ दिनको तथ्याङ्क हेर्दा एकैदिन ९ हजार २ सय ७१ जनामा संक्रमण देखियो भने २४ घण्टाको अवधिमा १ सय ३९ जनाको मृत्यु भएको पाइयो । २७ मितिमा कुल मृतक संख्या ३ हजार ८ सय ५९ पुग्यो भने निको हुने दर ७६ प्रतिशतमा झरेको छ । अझ २८ गते सोमबार त नेपालमा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भयो भने एकैदिन थप २२५ जनाले ज्यान गुमाए । एकैदिन पुष्टि गरिएको र २४ घण्टाको अवधिमा मृत्यु भएका यी दुवै संख्या हालसम्मकै उच्च हो ।

वैशाख २७ गतेको तथ्याङ्क । स्रोत : स्वास्थ्य तथा जनासंख्या मन्त्रालय

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १३ सयभन्दा बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । १ हजार ८४ जना आइसीयू र २९० जना संक्रमित भेन्टिलेटरमा गरी १ हजार ३७४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया