पत्रकार महासंघद्वारा नागरिकको जीवन बचाउन प्रभावकारी रुपमा प्रस्तुत हुन सरकारलाई आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई आग्रह गरेको छ ।

महासंघको मंगलबार भएको ‘भर्चुअल’ बैठकले कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको जीवन बचाउन प्रभावकारी ढंगबाट प्रस्तुत हुन आग्रह गरेको हो ।

‘कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिँदै आफ्ना संरचनामार्फत् नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई यो बैठक आग्रह गर्दछ’ महासंघले भनेको छ‚ ‘स्वास्थ्य सेवा सुलभ र सहज रुपमा पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्दै कोरोना संक्रमणको परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन तथा अस्पतालको उपलब्धतालाई सुनिश्चित गर्नका लागि पनि सरकारलाई ध्यानाकर्षण गराउँदछ।’

महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ९ बुँदे निर्णयहरूसमेत सार्वजनिक गरेका छन् ।

बैठकले आगामी बजेटमा कोरोना संक्रमणबाट पीडित सञ्चारकर्मी र संकटग्रस्त संचारसंस्थाका लागि फरक फरक राहत प्याकेजको व्यवस्था गरी घोषणा गर्न, पत्रपत्रिका मूल्याङ्कनलाई व्यवहारिक बनाउन, लोककल्याणकारी बिज्ञापनको भुक्तानी सहज बनाउन पनि सरकारसँग माग गरेको छ ।

त्यस्तै बैठकले पत्रकारलाई कोरोनाविरुद्धको लडाइका ‘फ्रन्टलाइनर’ घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न, पत्रकारसहित सबै ‘फ्रन्टलाइनर’को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बिमा र इन्टरनेट सुविधाको व्यवस्था गर्नसमेत माग गरेको छ ।

प्रतिक्रिया