प्रदेश १ : दबाबमा जान्छ ठूलाबडालाई खोप

विराटनगर । अक्सिजन तथा बेड नपाएर नागरिकले  मृत्युवरण गरिरहेको अवस्था छ । आइतबार प्रदेश प्रमुखको कार्यालय र निवास आसपासमा खोप लगाउन जानेहरूको निक्कै चहलपहल देखिन्थ्यो ।

प्रदेश सरकारको निर्देशनमा प्रदेश प्रमुखको कार्यालय र निवासका गरी १५० जनामध्ये ९७ जनाले अन्य क्षेत्रको शीर्षकमा खोप लगाएका छन् । त्यस्तै नेपाली सेनाका १९, निजामती कर्मचारी १२, सशस्त्र प्रहरी ७, नेपाल प्रहरीका ४ र स्वास्थ्य क्षेत्रका ३ जनाले खोप लगाएको तथ्याङ्क स्वास्थ्य कार्यालयसँग छ ।

यसरी खोप लगाएका व्यक्तिहरुको नाम तथा विवरण अरूलाई दिन नमिल्ने भन्दै कर्मचारीले दिन मानेनन् । जनस्वास्थ्यका एक कर्मचारीसँग खोपको मात्रा कति छ भनी जानकारी लिन खोज्दा उनले अहिले स्टकमा कुनै पनि खोप नभएको बताए ।

पछि उनले माथिल्लो तहबाट स्टकमा राख्न भनिएकोले २०/२२ भायल खोप स्टकमा राखिएको बताए । ‘सर्वसाधारणले खोपको बारेमा जानकारी लिन फोन गर्दा हामीसँग खोप छैन भन्ने गरेका छौं‚’ उनले भने । तर कार्यालयमा भने स्टकमा खोप हुने गरेको उनको भनाइले पुष्टि गरेको छ ।

‘हामीलाई माथिल्लो निकायबाट दबाब आउँछ, हाम्रो पनि आफ्नै बाध्यता छ,’ ती कर्मचारीले भने, ‘हिजोमात्र पनि प्रदेश प्रमुखज्यूकोमा केही भायल खोप पठाइएको हो ।’ नागरिकको लागि भन्दै ल्याइएको खोपमा ठुलाबडाले रजाईँ गरेका छन् । आइतबार लगाइएको खोपमा पनि केही ठूला व्यापारी घरानालाई बोलाएर खोप लगाइएको स्रोतको दाबी छ ।

सरकारले खोप लगाउनका लागि गत वैशाख ७ देखि ११ गतेसम्मको लागि समय तोकेको थियो । तर जिल्ला स्वास्थ्य कार्यालय मोरङले १३ गतेसम्म खोप लगाएको थियो । जिल्ला स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख रामानन्द यादवले प्रदेश सरकारबाट माग भएअनुसारको खोप उपलब्ध गराइएको बताए ।

खोप लगाउने नामावली दिन नमानेको जिल्ला स्वास्थ्य कार्यालयले कुन कुन क्षेत्रका क-कसले खोप लगाए भन्ने जानकारी भने उपलब्ध गराएको छ ।

संघीय सरकारको निर्णयअनुसार गत वैशाख ७ गतेदेखि ११ गतेसम्म खोप लगाउने समय तालिका तोकिएको थियो । संघीय सरकारको निर्णयअनुसार त्यसयता कुनैखालको पनि खोप लगाउन अहिले अनुमति दिइएको छैन । खोपको अभाव भई सर्वसाधारणको मृत्यु दैनिक बढ्दै जाँदा भएको खोप राजनीतिले ठूलाबडालाई मात्र खोप होकी भन्ने जस्तो देखिएको छ ।

‘हामीलाई पनि खोप लगाउनका लागि फोन आएको थियो, विराटनगरका एक व्यापारीले भने खोप नपाइरहेका बेला कसैले खोप लगाउन बोलाउँछ भनी जाने हो भनेर गएर लगाएर आइयो ।’

यसअघि पनि विराटनगर महानगरपालिकाका मेयरको दबाबमा विराटनगरका ठूला व्यापारी र उनका परिवारलाई बोलाएर खोप लगाएको स्रोतको दाबी छ । खोप लगाउनका लागि सत्यनारायण पुजामा बोलाएर प्रसाद बाँडेझैँ खोप लगाइएको एक व्यापारीले बताए ।

आफ्ना नजिक रहेकाहरूलाई बेलाएर खोप लगाएको पाइएको उनीहरुको भनाइ छ । खोप लगाउने विभिन्न मापदण्ड तोकिएको छ । त्यो मापदण्ड बाहिरका जो कोहीले खोप पाउने अवस्था छैन । तर ती मापदण्डमा नपरेका व्यक्तिहरूले पनि पहुँचको भरमा दबाब दिएर खोपको दुरुपयोग गर्ने गरेको विराटनगरका एक स्वास्थ्यकर्मीले मकालु खबरलाई जानकारी दिए ।
विराटनगरका व्यापारी प्रकाश मुण्दडाले खोपमा भेदभाव गर्न नहुने जिकीर गरे । ‘खोप व्यापारी, उद्योगी, सबैले पाउनुपर्ने कुरा हो,’ उनले भने, ‘खोपबाहेक रोग नियन्त्रणको कुनै विकल्प दिएको देखिएको छैन । मृत्युदर कम रहेकोले खोप अनिवार्य हो ।’

प्रतिक्रिया