झापामा कोरोना संकट बढ्दो, शैय्या र अक्सिजन अभाव हुनसक्ने

झापा । झापामा कोरोनाको जटिल किसिमका लक्षण देखिएका थप बिरामीलाई शैय्या तथा अक्सिजनको अभाव हुने खतरा बढेको छ ।
नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण बढ्दै गएसँगै झापामा पनि कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएसँगै सरकारी तथा निजी अस्पतालका शैय्या र अक्सिजनले थेग्न नसक्ने स्वास्थ्य कार्यालय झापाका कोभिड-१९ फोकल पर्सन जीवन चौंलागाईंले बताए ।
हालसम्म जटिल अवस्थाका बिरामीलाई अस्पतालमा नै राखेर उपचार गराउँदै आएपनि अब थपिने बिरामीलाई भने कसरी उपचार गराउने भन्ने चिन्ता थपिएको उनले बताए । उनी भन्छन्, ‘संक्रमितको संख्या बढ्दै गएका कारण जटिल अवस्थामा रहेका बिरामीलाई नै स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या हुने अवस्था सिर्जना भएको छ ।’
जिल्लाका सरकारी तथा निजी अस्पतालहरुमा अहिले १ सय ७३ जना बिरामीले अस्पतालबाटै स्वास्थ्य सेवा लिइरहेका छन् । अन्यको होम आइसोलेसन तथा सामुदायिक आइसोलेसनमा उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको सहकार्यमा अक्सिजनसहितको होम आइसोलेसनको व्यवस्था गरेको छ । सामान्य अवस्थाका बिरामीहरुलाई होम आइसोलेशनबाटै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको फोकल पर्सन चौंलागाईंले बताए । श्वास फेर्न नै समस्या भएका बिरामीहरूलाई मात्र अस्पताल भर्ना गर्ने गरेको उनको भनाई छ ।
कोरोना संक्रमितको संख्या थपिदै गएसँगै झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले शैय्या थप्ने तयारी गरिरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरी बताउँछन् ।
उनकाअनुसार अस्पतालमा अहिले २५ वटा आइसियु रहेकोमा सबैमा बिरामी छन् । थप २५ वटा आइसियु थप्ने तयारी भइरहेको उनले बताए । हालसम्म बिरामीलाई शैय्या तथा अक्सिजनको अभाव नरहे पनि अब थपिने बिरामीहरूलाई भने केही वैकल्पिक ब्यवस्था गर्नुपर्ने अबस्था रहेको गिरीले बताए ।
झापामा ६ हजार १ सय १४ जनामा संक्रमण देखिएको छ भने १ सय ४७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।









