धरानमा ज्यानै जानेगरी लुटपाट, धनमाल लुट्ने गिरोह पक्राउ

सुनसरी । सुनसरी धरानबाट प्रहरीले धानमाल लुट्ने समूहलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका- १५ पूर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते बनाई नगद र गरगहना लुट्ने समूह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा मोरङ पथरी-३ का ३८ वर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाइन बस्ने ३५ वर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ वर्षीया लक्ष्मी लिम्बु रहेका छन् ।

उनीहरुले पूर्वेली पथका झरना विश्वकर्मा र छोरा जोहन विश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी धनमाल लुटेको प्रहरीले जनाएको छ । झरनाकी आमा गोविन्द माया विश्वकर्मालाई टाउकोलगायत शरिरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई नगद २ लाख र घरमा रहेका सुनका गरगहना गरी ११ लाख ४० हजार ९५० बराबरको धनमाल डाँका गरी लगेका थिए ।

वैशाख ११ गते भएको घटनामा घाइते भएकी गोविन्द मायाको न्यूरो अस्पताल विराटनगरमा ल्याइएकोमा वैशाख १९ गते मृत्यु भएको थियो ।

घटनापछि पीडित परिवारको दिएको जाहेरी तथा स्थानीयको सूचनाका आधारमा उनीहरुको खोजी थालेको प्रहरीले सामानसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेका व्यक्तिहरूका सन्दर्भमा कर्तव्य ज्यान र डाँका मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया