‘खोप अपरिहार्य छ, तत्काल देउ’

विराटनगर । कोभिड-१९ को महामारी फैलिएको अवस्थामा खोपबाहेक कोभिड नियन्त्रणको अर्को विकल्प नभएको व्यवसायीहरुले बताएका छन् । विराटनगरका व्यवसायीहरुले कोभिड नियन्त्रणका लागि तत्काल खोपको व्यवस्था गर्न सरकारसमक्ष माग गरेका हुन् ।

नीजि क्षेत्रका तर्फबाट खोपको सहज आपूर्तिको व्यवस्था मिलाउन उनीहरुले अनुरोध गरे । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, विराट व्यापार संघ तथा नेपाल परिसंघले विज्ञप्ति जारी गर्दै विगतमा नेपाल सरकारले उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोपको प्राथमिकतामा नीजि क्षेत्र पर्न नसकेकोसमेत उल्लेख गरेका छन् ।

महामारीको जटिल अवस्थामा अतिआवश्यक वस्तु तथा सेवाहरुको आपूर्ति व्यवस्थालाई अक्षुण राखि अभाव हुन नदिन खोप अपरिहार्य भएको उनीहरुको भनाई छ । ‘नीजि क्षेत्रले गरेको योगदानलाई मध्यनजर गर्दै नीजि क्षेत्रमा संलग्न कामदार, श्रमिक र कर्मचारीहरुलाई कोभिड-१९ विरुद्धको खोप प्राथमिकताका साथ उपलब्ध गराउन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘महामारीको यो अवस्थाबाट सर्वसाधारण नागरिकलाई बचाउन खोप सर्वसाधारणलाई सहज रुपमा उपलब्ध हुने गरी व्यवस्था मिलाउन सरकारले आफ्ना सबै संयन्त्रहरु परिचालन गरोस् ।’

सरकारी प्रकृयागत जटिलता सरल बताउँदै तत्काल खोप आपूर्ति गर्न अनुरोध गर्दै स्वास्थ्य संकटको वर्तमान असहज अवस्थालाई मध्यनजर गरी खोप आपूर्तिमा मूल्यलगायतको मापदण्ड निर्धारण गरि नीजि क्षेत्रलाई आब्हान गर्न समेत उनीहरुले संयुक्त अपिल गरेका छन् ।

नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा र विराट व्यापार संघका अध्यक्ष सुजन थापाले संयुक्त विज्ञप्ति जारी गर्दै महामारीका रुपमा फैलिरहेको कोभिड-१९ र त्यसबाट सिर्जित स्वास्थ्य जटिलताका कारण मुलुक यतिबेला गम्भीर सामाजिक एवं आर्थिक समस्याहरुसंग जुधिरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया