गम्भीर अवस्थाका संक्रमितलाई शय्या अभाव

विराटनगर । शुक्रवार मध्यराति झापाको दमकबाट थप उपचारका लागि ल्याइएका एक कोभिड संक्रमितलाई विराटनगरका धेरै अस्पतालमा दौडाउँदा पनि शय्या पाइएन । उनको उपचारका लागि नोबेल मेडिकल कलेजमा पुर्याईएपनि गम्भीर अवस्थाका बिरामीलाई राख्ने शय्या खाली नभएको भन्दै भर्ना लिइएन ।

राति ३ बजेतिर परिवारका सदस्यले बिरामीलाई कोशी अस्पताल पुर्याए । अस्पतालले विभिन्न बहाना बनाएको तर बिरामीलाई भर्ना नगरेको परिवारका सदस्यको दाबी छ । त्यहाँका एक कर्मचारीले कोशी कोभिड उपचार केन्द्रमा लैजान सुझाव दिए । बिहान ४ बजेतिर गम्भीर अवस्थाका बिरामी बोकेर साइरन बजाउँदै पुगेको एम्बुलेन्सलाई अस्पतालमा भित्र छिर्नै दिइएन ।

झण्डै आधा घण्टाको पर्खाइपछि पनि भित्र छिर्न नपाएपछि बिरामी लिएर परिवारका सदस्य दमक नै फर्किए । दमकको एक अस्पतालमा अक्सिजनसहित उपचार गराइरहेका ती बिरामीलाई अक्सिजन अभाव भएपछि विराटनगर पठाइएको थियो । विराटनगरमा जति भौतारिए पनि भर्ना गर्न सम्भव नभएपछि परिवार बिरामी लिएर दमककै अस्पतालमा फर्किन बाध्य भएको बिरामीसँगै आएका सुदिप अधिकारीले बताए ।

गम्भीर अवस्थाका बिरामी राख्ने शय्या नभएको अस्पतालको भनाइ
गम्भीर अवस्थाका बिरामी मात्र अस्पतालमा भर्नाका लागि आउने गरेको र अब गम्भीर बिरामीको भर्ना लिन सम्भव नहुने अवस्था रहेको अस्पतालहरुले बताउन थालेका छन् ।

विराटनगरमा रहेको नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १९२ शय्या छन् । ती सबै शय्यामा बिरामी रहेको अस्पतालले जनाएको छ । ३९ आइसीयू, ७ भेन्टीलेजर र अन्य अक्सिजनसहितका शय्या रहेकोमा शनिवार बिहानसम्म डिस्चार्ज भएकाहरुको २ वटा शय्या मात्र बाँकी रहेको अस्पतालका निर्देशक नरायण दाहालले जानकारी दिए ।

तैपनि सकेसम्म सबै बिरामीलाई व्यवस्थापन गरिरहेको उनको दाबी छ । ‘कसैले ल्यायो भने राख्न सक्दैनौँ भनेका छैनौँ,’ दाहालले मकाल खबरसँग भने– ‘आएका संक्रमितलाई फर्काउने गरिएको छैन् ।’ उनले बेड अभाव हुन थालेपछि बेड थप्ने काम पनि भइरहेको बताए । कोभिडको दोश्रो लहर शुरु भएसँगै यो अस्पतालमा १३ जनाको ज्यान गएको छ । कोभिड उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

साधारण शय्या भने बाँकी
प्रदेश सरकारले संचालनमा ल्याएको कोशी कोभिड उपचार केन्द्रमा पनि सामान्य बाहेकका कुनै पनि शय्या खाली नभएको अस्पताल प्रशासनले जनाएको छ । अहिले संचालनमा रहेको नागरिक केयर सेन्टरमा ९६ वटा शय्या रहेकोमा नर्मल बाहेकका सबै शय्या भरिएको अस्पतालले जनाएको छ । अक्सिनबाहेकका बेड भने बाँकी रहेको र अरु सबै भरिएको कोभिड अस्पतालका संयोजक बैजनाथ साहले जानकारी दिए ।

नयाँ नागरिक केयरमा २१ भेन्टीलेरसहितको शय्या छन् । १३ वटा सामान्य र बाँकी अक्सिजनसहितका शय्या रहेकोमा १३ वटा सामान्य शय्याबाहेक सबै बिरामीले भरिएको साहले बताए । तर अहिले गम्भीर प्रकृतिका बिरामी आउने गरेकाले उनीहरुलाई सामान्य शय्यामा राख्न नमिल्ने उनी बताउँछन् । ‘हामीलाई जानकारीमा आएसम्म प्रदेशका कुनै पनि अस्पताल खाली छैनन्,’ साहले मकालु खबरसँग भने– ‘आइसीयूमा राख्नुपर्ने खालका गम्भीर बिरामी आउँछन्, जनरल बेडमा राख्न सक्ने अवस्था छैन ।’ कोशी कोभिड उपचार केन्द्रमा चैत २५ पछि शुक्रवारसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

अक्सिजन पनि कम हुन सक्ने
कोशी कोभिड अस्पतालमा दैनिक १५० वटा सिलिण्डर अक्सिजन खपत हुँदै आएको छ । अहिलेसम्म अक्सिजनको समस्या नभएपनि माग बढ्दै गएकाले समस्या आउनसक्ने अस्पतालले जनाएको छ ।

शुरुमा कोभिड अस्पताल संचालनमा ल्याउँदा ५० शय्या अक्सिजनविहीन रहेकोमा अहिले यो क्षमता विस्तारको तयारीमा रहेको र यसपछि अक्सिजनसहितका ८० वटा शय्या तयार हुने अस्पताल प्रशासनले जनाएको छ । जसमा ८ वटा आइसीयू, १२ वटा एचडीयू र अरु अक्सिजनयुक्त शय्या हुने अस्पताल संयोजक साहले बताए ।

यस्तै, विराट मेडिकल कलेज अस्पतालमा दैनिक ३ सय सिलिण्डर अक्सिजन आवश्यक रहेकोमा अहिले माग बढ्दै गएको अस्पतालले जनाएको छ । केहि दिनभित्रमा ५ सय सिलिण्डरको आवश्यकता पर्नसक्ने अस्पतालका कोभिड संयोजक डा. सुनिल देवले जानकारी दिए ।

प्रदेश सरकारको तयारी सुस्त
अस्पतालमा गम्भीर प्रकारका बिरामीको लागि बेड अभाव शुरु भएको अवस्थामा प्रदेशको सामाजिक विकास मन्त्रालयको तयारी सुस्त देखिन्छ । सामाजिक विकासमन्त्री उषाकला राईले कोशी कोभिड अस्पतालको पुरानो ५० शय्यालाई विस्तार गरी अक्सिजनसहितको ८० शय्या पुर्याउने काम शुरु भएको बताइन् । ‘हामीले जिल्ला तहमा आइसोलेशन सञ्चालनका लागि बजेट पठाइसकेका छौँ,’ मन्त्री राईले भनिन्– ‘जिल्लामा भएका केही आइसीयू र भेन्टीलेटर भएका अस्पतालमा पनि जनशक्ति नहुँदा समस्या भएको छ ।’

स्थानीय तहसँग समन्वय गरेर काम गर्ने भनेर स्थानीय तहलाई पनि आग्रह गरिएको मन्त्री राईको भनाइ छ ।

प्रतिक्रिया