आर्यघाटमा आधाघण्टा : आफन्तको शवमा बाहिरैबाट माला चढाएर फर्किन्छन् आफन्त

काठमाडौं । कुनैपनि जोखिम, जति बढ्छ उति सक्रिय हुनुपर्छ फोटो पत्रकार । हामी फोटो पत्रकार जस्तासुकै घटनालाई पनि तस्बिरमार्फत ‘हजारौं शब्दले बोल्न नसक्ने कुरा बोलाउनुपर्ने/देखाउनुपर्ने’ दायित्वमा हुन्छाैँ । फोटोमा मिलिसकेन्डको पनि महत्व हुने भएकाले जतिसुकै जोखिम मोलेर पनि, हामी छिटोभन्दा छिटो र बढीभन्दा बढी तस्बिरमा त्यो समय कैद गर्नुपर्ने चुनौती र दायित्वले घेरिएका हुन्छौं ।यसो भन्दै गर्दा भावनामा नबहकिने वा परिवेशले नछुने त कसरी हुन सक्छ र ? हाम्रो पनि त मनै हो । कोभिड महामारीको अहिलेको बेला तस्बिर खिच्ने क्रममा घरी आतेस त घरी दिक्दार बनाउने गरेको छ समयले ।

कोभिडको दोश्रो लहरमा म चार पाँच पटक पशुपति आर्यघाट पुगें । किन किन आर्यघाट जीवनको महत्वबोध गराउने ठाउँ हाे जस्तो लाग्छ । सायद मलाई जस्तो सबैलाई कम्तिमा आर्यघाटमा रहुन्जेल अवश्य लाग्दो हो, ‘आखिर जिन्दगी भन्नु के छ र आज मरे भोलि दुई दिन न हो ।’

तर काेभिड कहरले अहिले आर्यघाटमा जीवनको महत्व भन्दा अरु पनि धेरै कुराको बोध गराउँछ । भाैतिक रुपमा  अब कहिल्यै भेट्न नपाउने गरि जाँदै गरेको आफन्तलाई अन्तिमपटक अंगालो हालौं, अन्तिमपटक चरण स्पर्श गरौं, नजिकैबाट चढाएको श्रद्धाको एक थुँगा फूल उहाँकाे शवमाथि परोस् भन्ने चाहना पनि पूरा हुन नपाउने अवस्था छ ।

कोभिड महामारीसँगै संक्रमित मात्र होइन मृत्यु हुनेको संख्या पनि झन्झन् बढ्दो छ । कोभिड संक्रमण भएका मृतकलाई सत्गती गर्न विद्युुतीय र वातावरणमैत्री दुई शवदाह गृह छुट्याइएपनि त्यसले मात्र नधानेपछि अस्थायी घाट बनाइएको छ बाग्मती किनारमा ।आर्यघाटले मात्र नधान्ने भएकाले घाटको संख्या थपिँदै छ । 

आज शनिवार, फेरि पशुपति आर्यघाट छिरेर जानुपर्यो भन्ने सोचेँ र त्यतै लागेँ ।

शनिवार पशुपति क्षेत्रमा बस्दा म धेरै भावुक र निःशब्द भएँ । त्यसै त्यसै उकुसमुकुस भएर आयो । दुईवटा शव दाह गृहले मात्र थेग्न नसकेपछि बनाइएका अस्थायी घाट पनि अपुग भएछन् । केही दिन अघि पशुपति पुग्दा बागमतीको किनारमा बनाइएका अस्थायी घाटमा लस्करै शवको सत्गती गरिँदै थियो । यो क्रम अहिले झनै बढेछ । शनिबार थप अरु घाटका लागि बाग्मती किनार सम्याइँदै थियो ।


आधा घण्टामा कोभिड संक्रमण भएर ज्यान गुमाएका १० जनाकाे शव ल्याइयो । नेपाली सेनाको शव बहानमा तीन वटासम्म शव राखेर ल्याइएको थियो । (शव बहानमा त्यसभन्दा बढी शव अटाउँदैन थिए ।)

मृतकका आफन्तले पनि शव हेर्न पाउँदैनन् । शव बेरेको झोलामा टाँसिएको नम्बरका आधारमा यो पोको मेरो आफन्तको शव हो भनेर परैबाट ठम्याउनुपर्ने अवस्था थियाे । त्यसैका आधारमा आफन्तहरु परैबाट शवको अन्तिम बिदाई गरिरहेका थिए ।

फलामे बार बाहिरबाटै शवको पोकोमा माला चढाउनुपर्ने अवस्था थियाे । याे तस्बिरले  मेरो मथिङ्ग्ल हल्लायो । बागमती पुल र खोलापारी बसेर रोइरहेका आफन्तको पीडा शायद न कुनै शब्दले न कुनै तस्बिरले बोल्न सकोस् । उनीहरुका आँसु र चित्कारले मन उद्वेलित बनायो । म भावशून्य भएँ ।

तर जोखिमका बिच शव जलाएको रमिता हेर्ने सर्वसाधारणको भिड लाग्ने क्रम उस्तै रहेछ । निषेधाज्ञाले पनि रोक्न नसकेको यो भिडले जोखिमबारे नबुझेको हो वा हेलचेक्र्याईँ गरेको भन्ने चाहिँ थाहा पाइनँ ।

शून्यमा शून्यसरी बिलाएका हरुकाे तस्बिर मनले र क्यामराले खिचेर म मकालु खबरको कार्यालय फर्किएँ । कार्यालय आइपुगेर हेर्दा प्रधानमन्त्रीले नेपालमा कोभिड १९ को अवस्था ‘हाम्रो नियन्त्रणमै छ’ भन्ने दाबी गरेको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भइरहेको थियो ।

प्रतिक्रिया