मेयरको घोषणा- ‘हामी चढ्ने गाडी अबदेखि एम्बुलेन्स’

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र बराहक्षेत्र नगरपालिकाका मेयर निलम बस्नेतले आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् ।

कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को१झ ४९४ नम्बरको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने मेयर पराजुलीले घोषणा गरेका हुन् ।

शुक्रबार विज्ञाप्ति जारी गर्दै मेयर पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाएका छन् ।

यसअघि बिहीबार सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले आफूले चढ्दै आएको गाडी कोरोना संक्रमित बिरामीको लागि एम्बुलेन्स बनाउने घोषणा गरेका थिए । उनले चढ्दै आएको बा १ झ ८८९१ नम्बरको बोलेरो र नगरकै प्रमुख प्रशासकीय अधिकृत राजेश पोखरेलले चढ्दै आएको बा १ झ ५८१४ नम्बरको बोलेरो गाडी नगरवासीलाई सहजताका लागि एम्बुलेन्स बनाउन दिने निर्णय गरेका हुन् ।

कोरोनाका कारण नगरवासीलाई एम्बुलेन्सको अभावले दुःख पाउनु नपरोस् भन्ने अभिप्रायले आफू र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने उनको भनाइ छ । दुई वटा गाडीमध्ये एउटालाई गर्भवति तथा सुत्केरी महिलालाई अस्पताल लैजान र ल्याउन प्रयोग गरिने छ भने अर्कोलाई नगरले निर्माण गरेको आइसोलेसनमा तैनाथ गरिने छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा१५च ६३२२ नम्बरको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रतिक्रिया