एमाले स्थायी कमिटी बैठक बस्दै, विपक्षी एमालेविरुद्धको कारबाही फिर्ताको सम्भावना

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई दिएको जानकारीअनुसार बैठक सरकारी निवास बालुवाटारमा शुरु हुन लागेको छ । बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनको लागि उम्मेदवार टुङ्गोसँगै विपक्षी एमालेविरुद्धको कारबाही फिर्ताबारे औपचारिक छलफल हुनेछ ।

यसअघि बिहीबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । निर्णायक भनिएको वार्तामा कुनै ठोस सहमति भने भएको छैन । तर, यता दोस्रो तहका नेताहरुले भने दुई नेताबीच भद्र सहमति भएको दाबी गर्छन् । ओली निकट एक नेताले भने– ‘उहाँहरुबीच भद्र सहमति भएको छ । पछि थाहा हुन्छ ।’

राष्ट्रपति निवास शीतल निवासमा ओली–नेपालबीच राति अबेरसम्म वार्ता भएको थियो । पार्टीभित्रको समस्या हल गर्न राष्ट्रपति स्वयम्समेत सक्रिय हुँदा पनि विवाद ज्यूँका त्यूँ छ । वार्ताका क्रममा ओलीले ‘महाधिवेशन आयोजक कमिटी बैठक बोलाउँछु, तपाईं आउनुस्’ भनेका थिए । तर, नेपालले सहमति जनाएनन् ।

एमालेले आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवारको पनि टुङ्गो लगाएको छैन । यसअघि भर्खरै माओवादी केन्द्र त्यागेर एमाले बनेका वर्तमान गृहमन्त्रीसमेत रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने मोटामोटी सल्लाह भएको एमालेभित्र विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई अघि बढाउने भएपछि एमालेले पुनःविचार गर्ने भएको हो यअसघि बिहीबार नै बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा समेत यो विषयमा छलफल भएको थियो । जहाँ, बादलले ‘हार्ने चुनाव नलड्ने’ भनि भनेका थिए । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि समय आज तोकेको छ ।

बिहीबार नै उपप्रधानमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले पनि विपक्षी एमाले योगेशकुमार भट्टराई, गोकर्ण विष्टलगायतका नेतालाई भेटेर विवाद समाधान कसरी गर्न सकिन्छ भनि वार्ता गरेका थिए भने अर्थमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य विष्णु पौडेलले पनि विपक्षी एमालेका नेताहरुसँग छलफल गरेका थिए । तर, ती सबै वार्ताबाट कुनै निष्कर्ष ननिस्केको वार्तामा सहभागी एक नेताले मकालु खबरलाई बताए ।

प्रतिक्रिया