बच्चा जन्मिएको ३ महिनापछि बलात्कार आरोपी पक्राउ

काठमाडौं । नाबालिका बलात्कारका फरार आरोपीलाई बच्चा जन्मिएको ३ महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

गतवर्ष वैशाख ११ गते १४ वर्षकी बालिकालाई बलात्कार गरी फरार रहेका गोरखा नगरपालिका- ८ गैरीचौताराका ६५ वर्षका तुलबहादुर थापालाई बिहीबार जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले पक्राउ गरेको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

बिहीबार दिउँसो १:३० बजे मझुवा देउरालीबाट उनलाई पक्राउ गरिएको उनले बताए ।

गोरखा नगरपालिका- ८ खोलखोलेको जंगलमा निउरो खोज्न गएकी १४ वर्षकी नाबालिकालाई पैसा दिने प्रलोभन देखाई थापाले गोठमा लगेर बलात्कार गरेको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । बालिकाले घटनालगत्तै कसैलाई केहि नभनेपनि उनको शारीरिक अवस्थामा परिवर्तन आएपछि स्वास्थ्य जाँच गर्दा गर्भ रहेको थाहा भएको थियो ।

त्यसलगत्तै उनले घटनाबारे परिवारलाई बताएकी थिइन् । पीडित परिवारले कात्तिकमा प्रहरीमा थापाविरुद्ध उजुरी दिएपछि उनी फरार थिए । थापा गोरखाबाट भागेर भारतको गयामा गाई फार्ममा सुरक्षागार्डको काम गरेको खुलेको छ । कोरोनाको संक्रमण बढेपछि घर फर्कँदा उनलाई पक्राउ गर्न सफल भएको डिएसपी दाहालले बताए । बलात्कारबाट गर्भवती बालिकाले गत माघ ३० गते छोरा जन्माएकी छन् ।

थापालाई आज नै जिल्ला अदालत गोरखामा उपस्थित गराइएको डिएसपी दाहालले बताए । थापाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर बुंकोट प्रहरी चौकीको हिरासतमा लगिएको उनले जानकारी दिए । उनलाई भोलि पनि जिल्ला अदालत उपस्थित गराइने डिएसपी थापाले बताए ।

प्रतिक्रिया