कालोबजारी गरेको आरोपमा एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंमा रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो ।

उनले एकसेट रेम्डेसिभिर १ लाख २० हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा महाराजगञ्जबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङले जानकारी दिए ।

रेम्डेसिभिर औषधिको कालाबजारी भइरहेको सूचनाका आधारमा ग्राहक बनेर खरिद गर्न जाँदा रसिक मियाले बार्गेनिङ गरेर १ लाख २० हजार रुपैयाँमा बेच्न तयार भएपछि पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका रसिकले सेवा फर्माका दीपक ढकालले भने अनुसार आफूले बेचेको बताएपछि थप अनुसन्धान भइरहेको खापुङले बताए ।

कोरोना संक्रमणबाट जटिल अवस्थामा रहेका संक्रमितलाई केहि राहत दिनका लागि यो औषधि प्रयोग गर्ने गरिन्छ । पक्राउ परेकामाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया